काठमाडौं । नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको ६ अर्ब ६० करोड रुपैयाँ बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैङ्कले सूचना प्रकाशित गरी आफूले लिन चाहेको रकम र व्याजदर समेत प्रस्ताव गरी आवेदन पेस गर्न आग्रह गरेको छ ।
केन्द्रीय बैङ्कले एक वर्षका लागि लगानी गर्न लागिएकाले यही मङ्सिर २९ गतेभित्र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको छ ।



राष्ट्र बैङ्कले ‘क’ वर्गका वाणिज्य बैङ्कमा पाँच अर्ब २८ करोड, ‘ख’ वर्गका विकास बैङ्कमा ९९ करोड र ‘ग’ वर्गका वित्त कम्पनीमा ३३ करोड रुपैयाँ बराबर लगानी गर्न लागिएको सूचनामा उल्लेख छ ।
बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, तोकिएको न्यूनतम कुल कर्जा पूँजी कोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेकोलगायतका शर्त पूरा गरेको हुनुपर्नेछ ।
त्यसैगरी केन्द्रीय बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । एक वर्षका लागि लगानी गर्न लागिएको उक्त रकमको व्याजदरसहित प्रस्ताव गर्न सूचनामा आग्रह गरिएको छ ।
सूचनाअनुसार ‘क’ वर्गका वाणिज्य बैङ्कमा ८० करोड, ‘ख’ वर्गका विकास बैङ्कमा रु १५ करोड र वित्त कम्पनीमा पाँच करोड रुपैयाँ बराबर लगानी गर्न लागिएको हो । यही मङ्सिर २८ गतेसम्म आवश्यक कागजात र विवरणसहित निवेदन दिन केन्द्रीय बैङ्कले आग्रह गरेको छ ।




