मुगु जिल्लाको पुर्बि करानभेग क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका वडा नं. ९ पाँपुस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अत्यधिक चिसोका कारण पठनपाठन गम्भीर रूपमा प्रभावित भएको छ। जाडो मौसम बढ्दै गएसँगै विद्यार्थीहरू कक्षा कोठाभित्र बसेर पढ्न नसक्ने अवस्थामा पुगेका छन्। विद्यालय परिसरमा पर्याप्त न्यानोपनको व्यवस्था नहुँदा विद्यार्थीहरू कक्षा कोठा बाहिर खुल्ला चौरमै आगो बालेर राप ताप्दै अध्ययन गर्न बाध्य भएका छन्। विद्यालयमा बिहान करिब ८ बजे मात्र घाम लाग्ने र दिउँसो १ बजेपछि घाम अस्ताउने भएकाले दिनमा करिब तीन घण्टामात्रै घाम देख्न सकिने अवस्था रहेको विद्यालय प्रशासनले जनाएको छ। घाम अस्ताएसँगै चिसो अत्यधिक बढ्ने हुँदा आगो बालेर पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताइएको छ।



हाल उक्त विद्यालयमा ८५ जना विद्यार्थी अध्ययनरत छन्। जाडो बढ्दै जाँदा नियमित कक्षा सञ्चालनमा थप कठिनाइ उत्पन्न भएको विद्यालयको भनाइ छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष कर्ण बहादुर रोकायाका अनुसार कक्षा कोठामा न्यानोपनको उचित व्यवस्था नहुनु, झ्यालढोका कमजोर हुनु, तथा तातो पानीजस्ता आधारभूत सुविधाको अभावले विद्यार्थीहरू समस्यामा परेका छन्। “चिसोका कारण बालबालिका लामो समय कक्षा कोठामा बस्न सक्दैनन्, यसले उनीहरूको स्वास्थ्य र सिकाइ दुवैमा असर गरिरहेको छ,” उहाँले भन्नुभयो।
यसैगरी विद्यालयका प्रधानाध्यापक गोविन्द बहादुर रोकायाले चिसो मौसमका कारण विद्यार्थीहरूको उपस्थितिमा कमी आएको जानकारी दिनुभयो। उहाँका अनुसार अत्यधिक चिसोका कारण विद्यार्थीहरू पढाइमा ध्यान केन्द्रित गर्न नसक्ने अवस्था सिर्जना भएको छ, जसले समग्र सिकाइ प्रभावकारितामा नकारात्मक असर पारेको छ। “स्थानीय तह, सरोकारवाला निकाय तथा सहयोगी संस्थाबाट तत्काल सहयोग र वैकल्पिक व्यवस्था आवश्यक छ,” उहाँले जोड दिनुभयो।
स्थानीय अभिभावकहरूले पनि चिसोका कारण विशेषगरी साना कक्षाका बालबालिकालाई विद्यालय पठाउन हिच्किचाउने अवस्था आएको गुनासो गरेका छन्। उनीहरूका अनुसार चिसोबाट बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले न्यानो कक्षा कोठा, तातो पानी र सुरक्षित वातावरणको व्यवस्था तत्काल हुनुपर्ने आवश्यकता देखिएको छ। चिसो मौसमबाट बालबालिकाको स्वास्थ्य र शिक्षामा दीर्घकालीन असर नपरोस् भन्नका लागि स्थानीय सरकार, शिक्षा निकाय तथा सरोकारवाला पक्षहरूको ध्यान जानु अत्यन्त आवश्यक देखिएको छ।




