काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जारी ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म उम्मेदवारको दर्ता मनोनयन हुनेछ ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले आयोगले आज बिहान सवा १० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवारको दर्ता प्रक्रिया सुरु गर्ने बताउनु भयो ।

आयोगले हिजो मतादाता नामावली सार्वजनिक गर्दै निर्वाचन प्रक्रिया सुरु गरेको हो । निर्वाचन कार्यतालिकाअनुसार आज मनोनयनका लागि बिहान ९ देखि दिउँसो १२ बजेसम्म उम्मेदवारको दरखास्त फारम विवरण गरिनेछ । मनोनयनपछि आजै दिउँसो साढे २ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने र दिउँसो साढे २ देखि ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी लिने समय तालिका तोकिएको छ ।

यस्तै आयोगले उम्मेदवारको नाम फिर्ता लिनका लागि आज दिउँसो ३ बजेर १० मिनेट देखि ५ बजेसम्म समय तोकिएको छ भने उम्मेदवारको अन्तिम नामावली साँझ ६ बजे प्रकाशित गर्ने निर्वाचन कार्यतालिकामा उल्लेख गरिएको छ । निर्वाचन आयोगले आज सबै प्रक्रिया सकेर भोलि पुस १ गते निर्वाचन हुने जनाएको छ ।

आयोगका अध्यक्ष डा. सुब्बाले नयाँ नेतृत्वका लागि यही पुस १ गते बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । मतदान महाधिवेशनस्थल भृकुटीमण्डपमा हुनेछ ।

एमालेले यसपटक पनि विद्युतीय भोटिङ मेसिनबाट मतदान गर्ने भएको छ । महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधि सहभागी छन् । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।

यसअघि चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय