काठमाडौं । चन्द्रागिरि नगरपालिकाको थानकोट प्राथमिक अस्पतालमा ६ वेडको मातृत्व वार्ड संचालनमा आएको छ । बेटर वल्र्डको सहयोगमा चन्द्रागिरि नगरपालिका र रुद्र बहादुर स्मृति प्रतिष्ठानले संयुक्त रुपमा निर्माण गरेको मातृत्व वार्ड भवन हस्तान्तरण कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरलाई स्वास्थ्य हव बनाउने लक्ष्यलाई यसले थप टेवा पुगेको बताउनु भयो ।

उहाँले आफु निर्वाचित भएर आइसकेपछि यो ठाउँमा अस्पताल बनाउन धेरै नै संघर्ष गर्नुपरेको स्मरण गर्नुभयो । अस्पताल बनाउनको लागि आवश्यक जग्गा नगरमा खोज्दै जाँदा यस स्थानमा २३ रोपनी जग्गा अस्पतालको नाममा ल्याई अहिले धमाधम नगर अस्पताल निर्माण हुँदै गरेको बताउनु भयो । यस क्षेत्रमा अस्पताल बनाउनको लागि सहयोग गर्नुहुने सबैलाई आभार व्यक्त गर्नुभयो ।

प्रमुख गिरीले नगरपालिकाले नगर अस्पताल सुरु गर्दैगर्दा दिनमा ८–१० जना पनि सेवा लिन नआएको र नगर अस्पतालप्रति विश्वास नभई रहेको अवस्थामा अहिले सबैको सहयोग, उत्साह र साथले अस्पताल नमुना अस्पतालको रुपमा चिनिएको बताउनु भयो । उहाँले दिनमा ८–१० जना नहुने अस्पतालमा अहिले महिनामा हजारौं आएर सेवा लिने वातावरण तयार भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले नगरबासी मात्र नभई छिमेकी पालिकाका विरामीहरुले पनि चन्द्रागिरि नगर अस्पतालाई विश्वास गरेर सेवा लिने वातावरण बनेको उल्लेख गर्नुभयो ।

उहाँले नगरपालिकाले अस्पताल संचालनका लागि सहजिकरण, व्यवस्थापन, कानूनी झन्झट फुकाउने, रकम उपलब्ध गराउने लगायतको काम गर्दैआए पनि अस्पताललाई यहाँसम्म पुर्याउन डाक्टर देखि कर्मचारीको ठूलो भूमिका रहेको बताउनु भयो । गिरीले अस्पताल निर्माणको लागि विभिन्न सहयोगी हातहरु जुट्दै गएकोले अहिले अस्पतालको दुई वटा भवन निर्माण भइरहेको र थप मुटु अस्पताल ल्याउने विषयमा छलफल भइरहेको समेत जानकारी दिनुभयो ।

चन्द्रागिरि नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडा अध्यक्ष कृष्णप्रसाद खड्गीले पहिले काम भन्दा भाषण धेरै गर्ने अहिले भाषण नभई काम गर्न सुझाव दिनुभयो । गर्भवती महिला आउँदा विरामी बस्ने ठाउँसम्म नहुँदा ..संस्थाका प्रतिनिधि मायाले अस्पताललाई आवश्यक भवन निर्माण गरिदिने भनेपछि १४ लाख रुपैयाँ लागतमा ६ वटा वेडसहित एक तल्ले भवन निर्माण गरिदिएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भवन निर्माण कार्य थालनी गरेको एक महिनामा नै निर्माण सम्पन्न गरी नगरलाई हस्तान्तरण गरिनु सानो विषय नभएको उल्लेख गर्नुभयो । उहाँले संरचना बनाउनु ठूलो कुरा नभई संरक्षण र संचालन नै मुख्य भएकोले यसको सम्पूर्ण जिम्मा वडाले लिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

नगर अस्पतालका प्रमुख डा. दुर्गाराज महर्जनले प्रयोगविहीन अवस्थामा रहेको अस्पतालको यो ठाउँ अहिले मातृत्व वार्ड संचालन गर्न पाउँदा आफुहरु धेरै खुशी रहेको बताउनु भयो । उहाँले यसअघि दुई वटा मात्र वेड हुँदा समस्या भइरहेको अवस्थामा अहिले ६ वटा वेड संचालनमा आएसँगै सेवा सहजरुपमा उपलब्ध गराउन सकिने बताउनु भयो । उहाँले अहिले अस्पताललाई धेरैले विश्वास गरेकोले महिनामा ५–६ हजारले ओपिडी सेवा लिने गरेको, महिनामा इमरजेन्सीमा ५–६ सय व्यक्ति हुने गरेको, चन्द्रागिरि नगरपालिका भित्र सुत्केरीको डाटा हेर्दा ४ सय बढी रहेकोमा एक सय जतिलाई नगर अस्पतालले सुत्केरी गरेको बताउनु भयो ।

कार्यक्रममा रुद्र बहादुर स्मृति प्रतिष्ठानका अध्यक्ष सरला प्रधानले प्रतिष्ठानको सानो सहयोगले चन्द्रागिरि नगरपालिकामा ६ वेडको मातृत्व वार्ड संचालन भएको र त्यसलाई राम्रोसँग सेवा दिन आग्रह गर्दै भविष्यमा पुनः सहकार्य गर्दै अघि बढ्न आफुहरु तयार रहेको बताउनु भयो ।

कार्यक्रममा बेटर वल्र्डका प्रतिनिधि, जनप्रतिनिधि, स्वयम्सेविका, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय