भिजिट भिसा प्रकरणसँग सम्बन्धित छानबिनको क्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बद्रि तिवारीलाई जिल्ला प्रशासन कार्यालयबाट गृह मन्त्रालय तानिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारीमाथि पनि अनुसन्धान भइरहेको जानकारी दिएपछि उनको जिम्मेवारी खोसिएको हो।
गृह मन्त्रालय स्रोतका अनुसार तिवारीलाई मन्त्रालयको अतिरिक्त समूह जगेडामा राखिएको छ। यसैबीच म्याग्दीको सीडीओ पदमा शान्ति सुरक्षा महाशाखामा कार्यरत उपसचिव रवीन्द्र आचार्यलाई नियुक्त गरिएको छ।



बद्रि तिवारी पूर्व गृहमन्त्री रमेश लेखकको पालामा उनका निजी सचिवका रूपमा कार्यरत थिए। केही दिनअघि विशेष अदालतमा दायर भएको भिजिट भिसा प्रकरणमा लेखकसहित तिवारीलगायतका व्यक्तिमाथि पनि अख्तियारले छानबिन थालेको थियो। यस प्रकरणसँग सम्बन्धित थप अनुसन्धान अख्तियारले अघि बढाइरहेको छ।




