काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले थानकोट गोदामस्थित निर्माणाधीन १५ शैंयाको नगर अस्पतालको भवनको निरिक्षण गर्नुभएको छ । अस्पतालको दोस्रो तल्लाको ढलान भोलि मंगलबार हुने भएपछि त्यहाँको बस्तुस्थित बुझ्न नगरप्रमुख गिरी निर्माणाधिन अस्पतालको निरिक्षण गर्नुभएको हो ।

निरिक्षणको क्रममा प्रमुख गिरीले नेपाल सरकार र नगरपालिकाको संयुक्त लगानीमा करिब २० करोडको लागतमा बन्न लागेको अस्पतालको छिट्टै नै निर्माण सम्पन्न गरी आफ्नै कार्यकालमा उद्घाटन गरिने पनि बताउनु भयो । उहाँले अस्पताल संचालनमा आएपछि नगरबासीले मात्र नभई छिमेकी पालिकाका जनताले समेत गुणस्तरीय स्वास्थ्य सेवा पाउने दाबी गर्नुभयो । अस्पताल निर्माणको लागि आर्थिक वर्ष २०८२-०८३ मा कुल १३ करोड रुपैयाँको बजेट सुनिश्चित गरिएको छ । यसमध्ये, नेपाल सरकारबाट करिब ९ करोड र चन्द्रागिरि नगरपालिकाबाट ४ करोड रुपैयाँ विनियोजन भएको छ ।

चन्द्रागिरि नगरपालिकाले वडा नम्वर–४ थानकोट गोदामचौरमा रहेको २३ रोपनी जग्गामा नगर अस्पताल निर्माण भइरहेको छ । २०७९ फागुन २१ गते अस्पताल निर्माणको लागि बोलपत्र आह्वान गरिएको नगरपालिकाले २०८० असार २० गते नगरपालिका र निर्माण कम्पनी एम.ए.कन्स्ट्रक्सन प्रालीबीच दुई वर्षभित्रमा भवन निर्माण सम्पन्न गर्ने गरी द्वीपक्षीय सम्झौता भएको थियो । सम्झौता भएको ७ महिनापछि २०८० माघ ३ गते नगर अस्पतालको शिलान्यास भयो । सम्झौता भएको १० महिना २०८१ बैशाखसम्म पनि निर्माण सुरु नगरेपछि अस्पताल निर्माणमा ढिलाई गरेको भन्दै ठेक्का रद्ध गर्ने चेतावनी दिएपछि कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । कम्पनीले करिब १७ करोड ४९ लाख रुपैयाँको लागतमा तीन तल्ले भवन बनाउने छ ।

यस्तै जर्मनीको विकास बैंक के.एफ.डब्लुको १ अर्ब लगानीमा थापाथलीको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको स्याटेलाइट अस्पतालको रूपमा २५ शैयाको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल पनि यही स्थानमा बस्दै छ ।

निरिक्षणको क्रममा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता तथा चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कृष्णप्रसाद खड्गी, जनप्रतिनिधि, इञ्जिनियरलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय