दुबई – IBA पुरुष विश्व बक्सिङ च्याम्पियनशिप २०२५ मा नेपालले गौरवपूर्ण सफलता हासिल गरेको छ। नेपाली बक्सर चन्द्रबहादुर थापाले कडा प्रतिस्पर्धामा आफ्नो उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्दै कास्य पदक जितेका छन्।
चन्द्रबहादुर थापाका प्रशिक्षक दीपक महर्जन, जो IBA ३-स्टार प्रशिक्षक र एसियाली पदक विजेता पनि हुन्, उनको यो सफलता पछाडिको मुख्य प्रेरणा र मार्गदर्शकको रूपमा चिनिएका छन्।



यस अवसरमा, राइट पाथ करियर काउन्सिलले दीपक महर्जनलाई नेपाली बक्सिङ र खेलकुद क्षेत्रमा योगदानको कदर स्वरूप सम्मानित गरेको छ। सम्मान कार्यक्रममा महर्जनले आफ्नो अनुभव, प्रशिक्षण शैली र खेलाडीहरूलाई प्रेरित गर्ने तरिकाबारे प्रकाश पार्दै नेपाली खेलकुदमा गुणस्तरीय प्रशिक्षणको महत्वमा जोड दिएका थिए।
दीपक महर्जनले आफ्नो सम्बोधनमा भने, “यो पुरस्कार मेरो होइन, यो पुरस्कार तिनी सबै खेलाडीहरूको मेहनत र लगनको प्रतीक हो। चन्द्रबहादुर जस्ता प्रतिभाशाली खेलाडीहरूले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरव दिलाइरहेका छन्। हामी अझ धेरै युवा खेलाडीलाई प्रशिक्षण दिएर देशको नाम उच्च स्थानमा पुर्याउने लक्ष्य राखेका छौं।”
नेपालका खेलकुद प्रेमी र शुभचिन्तकहरूले यस उपलब्धिलाई अत्यन्त गर्वका साथ स्वागत गरेका छन्। यो सफलता नेपालको बक्सिङ क्षेत्रमा नयाँ प्रेरणा र उत्साहको स्रोत बनेको छ।




