काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको भवनबाट खसेर प्रशिक्षार्थी (इन्टर्न) चिकित्सकको मृत्यु भएको छ । आइतबार बिहान अस्पतालको पाँचौँ तलाबाट खसेका ३४ वर्षीय डा. अमित यादवको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार आज बिहान करिब ६ः३० बजे अस्पतालको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट यादव अचानक भुइँमा खसेका थिए । सप्तरीको राजविराज नगरपालिका–९, जगदरी निवासी यादव सोही मेडिकल कलेजमा एमबीबीएस अध्ययन पूरा गरी इन्टर्न चिकित्सकका रूपमा कार्यरत थिए ।



पाँचौँ तलाबाट खसेका कारण उनको टाउकोमा गम्भीर चोट लागेको थियो । घटनालगत्तै चिकित्सक यादवलाई अस्पतालकै आकस्मिक कक्षमा भर्ना गरी उपचार सुरु गरिएको थियो । तर उपचारका क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा भएको यस दुःखद घटनाले अस्पताल परिवार र सहकर्मीहरू स्तब्ध भएका छन् । डा. यादव भवनबाट कसरी खसे भन्नेबारे यकिन हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




