पर्सा जिल्लाको धोबिनी गाउँपालिका क्षेत्रमा भारतीय सुरक्षाकर्मी नेपालतर्फ प्रवेश गरेको घटनाले स्थानीयस्तरमा चासो बढाएको छ। प्रत्यक्षदर्शीका अनुसार सुरक्षाकर्मीहरू भारतीय प्रहरीको गाडी प्रयोग गरेर सीमा पार गरी नेपाल आएको देखिएका थिए। घटनाको जानकारी पाएपछि स्थानीय बासिन्दाले सुरक्षाकर्मीलाई रोकेर सोधपुछ गरेका थिए। धोबिनी गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहानका अनुसार उक्त समूह गाउँपालिका वडा नम्बर ५ सम्म प्रवेश गरेको थियो। उनले कुनै व्यक्तिलाई खोज्ने उद्देश्यले आएको जस्तो देखिएको बताए।
स्थानीयले खिचेको भिडियोमा भारतीय सुरक्षाकर्मीलाई “नेपालमा किन आएको रु” भन्दै प्रश्न गरिएको आवाज सुनिन्छ। पछि यस विषयमा नेपाल प्रहरी र सम्बन्धित निकायबीच समन्वय भई स्थिति साम्य भएको बताइएको छ।पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले भने यस विषयमा औपचारिक जानकारी नआएको प्रतिक्रिया दिएका छन्। उनका अनुसार सादा पोसाकमा आएको भन्ने कुरा सुन्नमा आएको भए पनि सुरक्षानिकायबीच समन्वय गरेर फर्काइएको बुझाइ छ।



नेपाल–भारत सीमा क्षेत्रमा यसअघि पनि यस्ता घटना दोहोरिँदै आएका छन्। सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरू बर्दी वा हतियारसहित प्रवेश गरेको भन्दै स्थानीयले आपत्ति जनाउने गरेका छन्। यस्ता अवस्थामा प्रायः आपसी समन्वयमार्फत भारतीय पक्षलाई जिम्मा लगाएर पठाउने गरिएको देखिन्छ।




