काठमाडौं । सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहर संकलन गर्न ‘ट्रास बेरियर’ जडान गरेको छ ।

गुह्येश्वरीबाट ट्रास बेरियर जडान सम्पन्न गरी वागमती नदीका पाँच स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्येश्वरी, तिलगंगा आँखा अस्पताल, वागमती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा एक स्थान गरी जम्मा ६ स्थानमा ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेर ट्रास बेरियर राख्न थालिएको हो ।

सहरी विकासमन्त्री कुलमान घिसिङको निजी सचिवालयका अनुसार ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लाष्टिक, पोलिथिन, बोतल, काठका टुक्रालगायत फोहरलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्दछ ।

काठमाडौं उपत्यकाका वागमती, विष्णुमती, मनोहरा र धोबीखोला नदीहरूमा सहरीकरण, अव्यवस्थित फोहर व्यवस्थापनका कारण ठूलोमात्रामा तैरिने फोहर बग्ने गरेको पाइएको हुँदा यस्ता नदीमा ट्रास बेरियर जडान गर्दा नदीको बहावलाई अवरुद्ध नगरी फोहर मात्र निकाल्न सकिन्छ । जसले गर्दा नदी प्रदूषण न्यूनीकरण गर्न सहयोग पुग्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय