गुल्मी सदरमुकाम तम्घास बसपार्क क्षेत्रमा रहेको सुजता अटो वर्कसपमा आगलागी भएको छ। रेसुङ्गा नगरपालिका–८ मा अवस्थित उक्त वर्कसपमा विद्युत् सर्टका कारण आगो लागेको प्रारम्भिक विवरणले जनाएको छ। आगलागीका क्रममा वर्कसप पूर्ण रूपमा जलेर नष्ट भएको छ।आगलागीको समयमा वर्कसपमा कार्यरत बिक्रम सुनार घाइते भएका छन्। उनलाई उपचारका लागि तत्काल गुल्मी अस्पताल लगिएको छ भने स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी रहेको छ।
आगलागीको सूचना प्राप्त हुनासाथ रेसुङ्गा नगरपालिकाको दमकल, नेपाल प्रहरी र नगरप्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो। नजिकै पेट्रोल पम्प र चार्जिङ स्टेसन रहेका कारण ठूलो जोखिम उत्पन्न भएको थियो। तर समयमै दमकल र सुरक्षाकर्मीको सक्रियताले आगो फैलिन नदिइ नियन्त्रणमा लिन सफल भएको थियो। आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ भने थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।







