दाङको धानखोला-लमही सडक खण्डलाई चार लेन बनाउन माग गर्दै लुम्बिनी प्रदेश सरकार जाने मुल गेट नजिक बिरोध प्रदर्शन सहित सरकारी गाडी आवगमनमा रोक लगाएको थियो । धानखोला–लमही चार लेन सडक संघर्ष समितिले आज सोमबार पहिलो चरणको शान्तिपूर्ण कार्यक्रम अन्तर्गत उक्त बिरोध प्रदर्शन गरेको हो । एमसिसी परियोजना अन्तर्गत एमसिए नेपालले अघि बढाएको दाङको धानखोला–लमही दुई लेन सडक परियोजना तत्काल खारेज गर्ने संकेत नदेखिएको र २ लेनकै सडक स्तरउन्नती गर्न खोजिएको भन्दै संघर्ष समितिले आज विहान ९ बजे देखि विरोध प्रदर्शन गर्नुका साथै सरकारी सवारीसाधानमा रोक लगाएको थियो । संघर्ष समितिका सदस्य कल्याण अधिकारीको नेतृत्वमा पहिलो दिन सांकेतिक रूपमा थोरै युवाहरू जम्मा भएर विरोध कार्यक्रम गरेका थिए । विरोध कार्यक्रममा बोल्ने वक्ताहरूले लुम्बिनी प्रदेशको राजधानी क्षेत्र समेत रहेको देउखुरीमा दुई लेन सडक दीर्घकालीन रूपमा अव्यवहारिक, असुरक्षित तथा विकास विरोधी हुने बताएका छन् ।
उनीहरू हालको सडक अत्यन्त साँघुरो रहेको, सवारी चाप अत्यधिक बढ्दै गएको तथा दुर्घटनाका घटना निरन्तर बढिरहेको उनीहरूको भनाई छ । पूर्व–पश्चिम राजमार्गलाई एसियन हाइवेका रूपमा चार लेनमा विस्तार गर्ने सरकारी नीति सँग विपरीत ढंगले धानखोला–लमही खण्डलाई दुई लेनमा सीमित गर्न खोजिनु गम्भीर त्रुटि भएको बक्ताहरूले बताएका छन् । साथै उनीहरूले ठेक्का कम्पनी, सरकार र एमसीए कम्पनी बिचको सम्झौता रोकेर चार लेन सडक निर्माण गर्ने प्रक्रियामा नगए आन्दोलन अझ ससक्त बनाउने चेतावनी समेत दिएका छन् ।



विरोध कार्यक्रममा संघर्ष समितिको तर्फबाट रमेश खड्का, रबिन जिसी, सन्देश भण्डारी, राप्ती प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ता लगायतका वक्ताहरूले सम्बोधन गरेका थिए । विरोध सभा कार्यक्रमको सञ्चालन जगदिश गिरीले गर्नु भएको थियो । संघर्ष समितिले यस अघि मंसिर ९ गते संघ, प्रदेश तथा स्थानीय तहका सरोकारवाला निकायसँग चरणबद्ध भेटघाट तथा ध्यानाकर्षण गराउँदै आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, जिल्ला प्रशासन कार्यालय दाङ तथा यस क्षेत्रका जनप्रतिनिधिसँग भएका भेटघाटमा चार लेन सडक आवश्यक रहेको बताउदै आएको छ ।




