काठमाडौं । चन्द्रागिरि नगरपालिकाको थानकोट गोदामस्थित प्राथमिक अस्पतालका सेवाग्राहीले आफूहरुलाई सास्ती भएको गुनासो गरेका छन् । अस्पतालमा नगरबासी मात्र नभई छिमेकी पालिकाका विरामीहरुले पनि सेवा लिने गरेका छन् । उक्त अस्पतालबाट विभिन्न सेवाहरु पनि प्रदान गरिँदै आएको छ ।

सेवाग्राहीका अनुसार अस्पताल पुग्न पहिलो सास्ती भनेको यातायातको रहेको छ । अस्पताल पुग्न चेकपोष्ट र थानकोटबाटै पैदल हिड्नु पर्ने बाध्यता छ । त्यसो त चन्द्रागिरि नगरपालिका र धुलिखेल नगरपालिका बीच सम्झौता भई थानकोटको गोदाम र धुलिखेलसम्म यातायात सञ्चालन गर्न काभ्रे–काठमाडौं नगर बससँग सहकार्यमा गर्दै महानगरले सेवा संचालन गर्ने भनि सम्झौता गरेको छ । तर, महानगर यातायात प्रालिले सम्झौता बमोजिमको सुविधा नदिएको स्थानीय तथा सेवाग्राहीहरुले बताएका छन् । महानगरले विदाका दिनमा चन्द्रागिरि हिल्सका पर्यटकको अनुमान गरेरमात्र सेवा दिइरहेको स्थानीयहरुले बताएका छन् । अस्पताल जान विरामीहरु चेकपोष्ट देखि अन्य स्थानमा बस कुरिरहने तर महानगर यातायातको बस कहिले चेकपोष्टबाटै फर्किने त कहिले चेकपोष्टसम्म पनि नआउने गरेको सरोकारवालाहरुले बताएका छन् ।

चेकपोष्टबाट करिव दुई किलोमिटरमा रहेको प्राथमिक अस्पताल पुग्न जेष्ठ नागरिक तथा विरामीहरुलाई यातायात सेवाकै कारण निकै सास्ती भोग्नुपरेको छ । थानकोट प्राथमिक अस्पतालमा बिरामी उपचार मात्र नभई स्वास्थ्य बीमाका सिफारिसहरु पनि लिनुपर्ने भएकाले अहिले अस्पतालमा सेवाग्राहीको चाप दिनहुँ बढेको स्वयम् जनप्रतिनिधिहरुले समेत बताएका छन् ।

महानगरले नगरवासीलाई सेवा दिन नसकेपछि सेवाग्राहीले उक्त सेवाको विकल्प दिनुपर्ने माग समेत गर्न थालेका छन् । सेवाग्राहीले थानकोट र चेकपोष्टबाट अर्को कुनै सवारीसाधनको व्यवस्था गरिदिए अस्पताल जान आउन सहज हुने उनीहरुको भनाइ छ ।

महानगर यातायातका सचिव केशव नेपालले बस संचालन गर्नुअघि आधा आधा घण्टाको फरकमा ४० वटा बस दिनहुँ उपलब्ध हुने दाबी गरेपनि अहिले भने आधा दिन कुर्दा पनि बस पाइँदैन । अस्पताल मात्र नभई दिनहुँ कार्यालय आउजाउ गर्ने सेवाग्राही पनि महानगरको सेवाप्रति असन्तुष्ट छन् ।

बेलाबेलामा नगर अस्पताल अपायक भएको भन्दै आवाज उठ्ने गरेपछि नगरपालिकाले त्यसलाई सहज बनाउनको लागि भन्दै विभिन्न बस सेवा प्रदायकसँग सम्झौता पनि गर्दै आएको छ । तर, फितलो अनुगमनले सेवाग्राही र विरामीहरु सधै मर्कामा पर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय