रौतहट । मङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग खुलेको छ । ग्याँस बुलेट पल्टिएका कारण अवरुद्ध रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड झण्डै २४ घण्टापछि सञ्चालनमा आएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर ग्याँस बुलेटलाई किनारा लगाएपछि राजमार्ग दुईतर्फी खुलेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।



दुर्घटनापछि ग्याँस चुहिएकाले आगलागीको जोखिम भएको भन्दै दमकलले पानी हाल्दै छवटा क्रेनले बुलेट उठाइएको थियो । कालोपत्रे राजमार्ग पनि पानीको फोहोरा हानेर सफा गरिएको छ भने ग्यास बुलेट सडकको किनारामा राखिएको छ ।
हिजो बिहान रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुलनजिक भारतको रक्सौलबाट ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ एटी २११४ नम्बरको ट्यांकर सडकमा पल्टिएको थियो ।




