पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १२ मा रहेको कजरिया टायल्स उद्योगमा काम गर्ने दुई जना मजदुरको मृत्यु भएको छ ।
गएराती टायल बनाउने क्रममा ग्यासी फायर क्षेत्रमा काम गर्ने दुई जना मजदुरको मृत्यु भएको हो।मृत्यु हुनेमा एक जना बर्दघाट-१३ धनेवाका ४० वर्षीय होम बहादुर थापा र भारत उत्तरप्रदेशको प्रतापगढका ३० वर्षीय बिनोद कुमार रहेका छन।उद्योगले कामदारको सुतिरहेको अवस्थामा मृत्यु भएको दाबि गरेपनि स्थानीय र मृतकका आफन्तले उद्योगको लापरवाहीले मृत्यु भएको भन्दै उद्योग विरुद्ध प्रर्दशन गरेका थिए।तनावको अवस्था सृजना भएपछि अहिले प्रहरी परिचालन गरिएको थियो।



रातिनै मजदुरको मृत्यु भएको भएपनि उद्योगले बिहान ढिलो गरि मात्रै प्रहरी र मृतकका आफन्तलाई खबर गरेको स्थानीयको भनाई छ।घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले बताउनुभयो।रातीको समयमा मजदुरलाई आवश्यक पर्ने कामदार सुरक्षाका सामाग्री बिनै काममा लगाएको, सास फेर्न कठिन भएको जानकारी गराउँदा समेत उद्धार नगरेका कारण मृत्यु भएको र घटना ढाकछोप गर्ने प्रयास गरेको मृतकका आफन्तको आरोप छ ।
ग्यास भएको क्षेत्रमा काम गर्नुपर्ने भएकाले उनीहरूको अक्सिजनको अभावमा मृत्यु भएको अनुमान गरिएपनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागी लान समेत मृतकका आफन्तले दिएका छैनन् । फरेन्सिक जाँचका लागी शव बुटवल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।




