काठमाडौं । नेपाल कुचो संघको अध्यक्षमा राजकुमार कार्की निर्वाचित हुनुभएको छ । संघको केन्द्रीय कार्यालय गोकर्णेश्वरमा भएको दोस्रो अधिवेशनबाट अध्यक्ष पदमा कार्की सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
अध्यक्ष कार्कीले पछिल्लो समय देशको राजनीतिक अवस्थाले अधिकांश व्यवसाय संकटग्रस्त बनिरहँदा कुचो व्यवसायीहरुमा पनि त्यसको असर प्रत्यक्ष परेको बताउनु भयो । उहाँले कुचो व्यवसायीहरुप्रति सरकारले आफ्नो स्पष्ट धारणा नबनाउँदा यो पेशामा आवद्ध व्यवसायीहरुले ढुक्क भएर लगानी गर्ने वातावरण अझै बन्न नसकेको भन्दै ध्यानाकर्षण गर्नुभयो । उहाँले आफुलाई दोस्रो पटक अध्यक्ष पदमा सर्वसम्मत रुपमा संघको जिम्मेवारी सम्हाल्न मौका दिने सबैलाई धन्यवाद दिंदै सबैसँग सरसल्लाह गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।



यस्तै कार्यसमिति सदस्य तारा भुर्तेलले कुचो व्यवसायीहरुले झेल्दै आएको समस्या संघ समाधान गर्दैै जानु पर्ने बताउनु भयो । उहाँले छुट्टाछुट्टै, एक्लाएक्लै भई अघि बढ्दा कानूनीलगायत विभिन्न झन्झटको सामना गर्नुपर्ने हुँदा त्यसबाट छुटकारा पाउन एकताबद्ध भई अघि बढ्नको लागि संघको आवश्यक परेको उल्लेख गर्नुभयो ।
एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष, एक सह–कोषाध्यक्ष र १२ जना कार्यसमिति सदस्य गरी २० जना अधिवेशनबाट सर्वसम्मत कमिटीमा निर्वाचित भएका छन् ।




