काठमाडौं । हिन्दू धर्मालम्बीहरुको स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा सुरु भएको छ । हरेक पौष शुक्ल पूर्णिमाका दिन यो व्रत सुरु हुने गरेको छ ।



यसैक्रममा चन्द्रागिरि नगरपालिका वडा नं. ७ को गौचरणमा बनदेवी खैजडी भजन समूहले पनि एक महिने स्वस्थानी कथा वाचन आयोजना गरेको छ । समूहका अध्यक्ष श्यामकुमार केसीका अनुसार हरेक दिन दिउँसो ३ बजेबाट कथा आरम्भ हुनेछ । पण्डित बालकृष्ण ढकालले कथा वाचन गर्नुहुने अध्यक्ष केसीले बताउनु भयो । अध्यक्ष केसीले गौचरणमा हुने कथा श्रवण गर्न सम्पूर्णमा आग्रह पनि गर्नुभएको छ । स्वस्थानी कथा वाचन पछि सोही स्थानमा हरेक दिन खैजडी भजन हुने पनि उहाँले बताउनु भयो ।
यसैगरी, चन्द्रागिरि–७ मा रहेको वनदेवी जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा पनि दैनिक स्वस्थानी कथा वाचन भइरहेको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ ।




