काठमाडौं । तराई क्षेत्रमा चिसो बढेसँगै टाउँको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको संख्या बढ्न थालेको छ । चिसो हावा, तापक्रममा आएको परिवर्तन, शरीरमा पानीको कमी, साइनसको समस्या तथा घाँटी र काँध क्षेत्रका मांसपेशी कडा हुनुजस्ता कारणले जाडो मौसममा टाउको दुखाई बढ्ने चिकित्सकको भनाइ छ ।



कोशी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा. रोशन खड्का जाडो मौसमले शरीरको ताप सन्तुलन र रक्तसञ्चार प्रणालीमै प्रत्यक्ष असर पार्ने भएकाले यो समयमा टाउको दुखाइको समस्या लिएर आउने बिरामीको संख्या बढ्दै गएको बताउनुहुन्छ ।
त्यसैगरी जाडो मौसममा नाक बन्द हुने, अनुहार भारी महसुस हुने, आँखाको वरिपरि च्यापिएको जस्तो दुख्ने तथा टाउकोको अगाडिको भाग दुख्ने समस्या जाडोमा बढ्ने गर्छ । साइनसमा सङ्क्रमण वा एलर्जी भएका व्यक्तिमा समयमै उपचार नगरे टाउको दुखाइ लामो समयसम्म रहने र कहिलेकाहीँ जटिल अवस्थासमेत आउन सक्ने चिकित्सकको भनाइ छ ।
यसैगरी माइग्रेनका बिरामी पनि जाडो मौसममा बढी प्रभावित हुने गरेका छन् । तापक्रमको अचानक परिवर्तन, चिसो हावा, निन्द्राको गडबडी तथा मानसिक तनावले माइग्रेन ट्रिगर गर्ने चिकित्सकहरू बताउछन् ।
टाउको दुखाईबाट बच्न चिकित्सकहरूले पर्याप्त पानी पिउने, न्यानो कपडा लगाएर घाँटी र कान छोप्ने, बिहानको घाम ताप्ने, लामो समय एउटै आसनमा नबस्ने तथा घाँटी र काँधको हल्का व्यायाम गर्ने सुझाव दिएका छन् ।
जाडो मौसममा सानो लापरबाहीले स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकाले दैनिक जीवनशैलीमा सचेतता अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन् ।




