काठमाडौं । बागमती प्रदेश सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका कारण पूर्णरूपमा क्षतिग्रस्त भएका सवारी साधनका लागि सवारी साधन कर, नवीकरण दस्तुर र जरिवानामा छुट दिने निर्णय गरेको छ । उक्त निर्णय बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ का लागि राजपत्रमार्फत प्रकाशित गरेको छ ।

प्रदेश सचिव झलकराम अधिकारीको हस्ताक्षरसहितको सूचनामा प्रदर्शनका क्रममा पूर्णरूपमा क्षतिग्रस्त भएका सरकारी, सार्वजनिक, बोर्ड तथा निजी सवारी साधनमा चालु आर्थिक वर्षको मात्र सवारी साधन कर र नवीकरण दस्तुर छुट दिइनेछ । साथै, भाडाका सार्वजनिक सवारी साधनका लागि जाँचपास र बाटो इजाजतपत्र नवीकरण दस्तुरमा पनि छुट दिने जनाइएको छ ।

बागमती प्रदेश सरकारले मन्त्रिपरिषद्को गत पुस १६ गतेको बैठकमा चालु आर्थिक वर्षको सवारी साधन कर, केही दस्तुर र जरिवाना छुट दिने निर्णय गरेको थियो र पुस २१ गते त्यसलाई राजपत्रमार्फत सार्वजनिक गरेको हो ।

यसैबीच, नेपाल ट्रक व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाले महासंघको प्रदेश सरकारको यो निर्णयले व्यवसायीहरूलाई ठूलो राहत पुगेको बताउनु भयो । उहाँले यस्ता प्रकारका राहतका उपायहरु निरन्तर रहने अपेक्षा समेत गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय