आगामी निर्वाचनका लागि नेपाल प्रहरीले १ लाख ३३ हजार निर्वाचन प्रहरीका लागि दरखास्त आह्वान गरेको छ । आजदेखि निर्वाचन प्रहरी छनोटका लागि आजदेखि आवेदन लिन थालिएको छ । जिल्ला–जिल्लाबाट लिइने दरखास्तमार्फत् प्रहरीले १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी छनोट गर्नेछ । विगतमा म्यादी भनिने निर्वाचन प्रहरीले निर्वाचन सुरक्षामा प्रहरीलाई सघाउने छन् । ४० दिने म्यादभित्र काम गरी प्रहरी जवानसरह सुविधा पाउने म्यादी प्रहरीको इतिहास कस्तो छ त ?

नेपालमा म्यादी प्रहरी भर्ना गर्ने परम्परा २०१५ सालको पहिलो आम निर्वाचनताका नै सुरु भएको मानिन्छ । त्यतिबेला सीमित स्रोत र साधनका बीच निर्वाचन सम्पन्न गर्न स्थानीय नागरिकहरूलाई अस्थायी सुरक्षाकर्मीका रूपमा परिचालन गरिएको थियो । पछि पञ्चायतकालमा पनि विभिन्न निर्वाचनमा यसरी अल्पकालीन सुरक्षाकर्मी भर्ना गर्दै जाँदा यसलाई म्यादी प्रहरी भन्न थालिएको हो । तर, यसले बढी व्यवस्थित र ठूलो संख्यामा स्थान पाउन थालेको २०४८ सालको आम निर्वाचन पछि हो । म्यादी प्रहरीलाई नेपाल प्रहरीकै एक अस्थायी इकाइको रूपमा परिचालन गर्ने गरिएको छ । उनीहरूले प्रहरी ऐन र नियम बमोजिम नै काम गर्छन् । विशेष गरी बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछिका प्रत्येक निर्वाचनमा म्यादी प्रहरी सुरक्षाको अभिन्न हिस्सा बन्दै आएका छन् ।

विश्वमा म्यादी प्रहरीको इतिहास

विश्वमा म्यादी प्रहरीको अवधारणा निकै पुरानो छ । यसलाई अन्तर्राष्ट्रियस्तरमा विशेष प्रहरी वा सहायक प्रहरी भनिन्छ । सन् १८३१ मा स्पेसल कन्स्टेबल एक्ट मार्फत् बेलायतमा नागरिकहरूलाई विशेष अवस्थामा प्रहरीको रूपमा काम गर्ने कानुनी बाटो खोलिएको थियो । सन् १८४०–५० को दशकमा सिंगापुर र अस्ट्रेलियाले पनि भीड नियन्त्रण र आपत्कालीन अवस्थाका लागि विशेष प्रहरी भर्ना गर्ने चलन सुरु गरेका थिए । नियमित प्रहरी बल कम भएको अवस्थामा वा ठूलो संकट आइपर्दा थप जनशक्ति जुटाउन यसरी अस्थायी रुपमा प्रहरी भर्ना गर्ने अभियान अहिले विश्वव्यापी नै बनिसकेको छ । सरकारले २०७९ मा भएका स्थानी तह निर्वाचनमा देशभरबाट १ लाख तथा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गरेको थियो ।

आगामी फागुन २१ गतेको निर्वाचनका लागि भने सरकारले हालसम्मकै ठूलो संख्यामा म्यादी अर्थात् निर्वाचन प्रहरी भर्नाको अनुमति दिएको छ । गृह मन्त्रालयले यसै वर्षदेखि म्यादी प्रहरीको नाम परिवर्तन गरी निर्वाचन प्रहरी नामाकरण गरेको छ । त्यसैअनुसार प्रहरी प्रधान कार्यालयले ‘निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड २०८२ तयार गरी भर्ना आह्वान गरेको हो । यसपटक सशस्त्र प्रहरी बललेसमेत निर्वाचन प्रहरी भर्ना गर्दैछ । जसअनुसार आगामी निर्वाचनका लागि झण्डै डेढ लाख निर्वाचन प्रहरी भर्ना हुनेछन् ।

के छन् मापदण्ड ?

निर्वाचन प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनु पर्नेछ । पूर्वसुरक्षाकर्मी, यसअघिका निर्वाचनमा म्यादी प्रहरी भएका, छिमेकी देशका सुरक्षा निकायमा काम गरेर अवकाश भएका तथा सुरक्षा निकायमा शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले पनि प्रवेश पत्र पेस गरे निर्वाचन प्रहरीमा भर्ना हुन प्राथमिकता पाउनेछन् । साथै फौजदारी कसुरमा सजाय पाई नैतिक पतन नभएको हुनुपर्ने मापदण्ड छ ।

१० दिन तालिम लिने र ३० दिन काममा खट्नुपर्ने निर्वाचन प्रहरीले ४० दिनको तलब पाउने छन् । तलब प्रहरी जवानको सरह नै हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय