काठमाडौं । वीरगञ्जस्थित प्रसिद्ध बौद्धिमाई मन्दिर नजिकको पुरानो रुखमा असामान्य धार्मिक घटना देखिएको छ ।



स्थानीयवासी र दर्शनार्थीहरूका अनुसार, रुखमा हनुमानको स्वरूप प्रकट भएको छ । जसको दर्शन गर्न हजारौं भक्तजन मन्दिर नजिक जम्मा भएका छन् । दर्शनार्थीहरू बिहानदेखि साँझसम्म रुखको वरिपरि उपस्थित भई पूजा, हनुमान चालिसा पाठ र दीप प्रज्वलन गरिरहेका छन् । स्थानीयहरुले आफ्नो जीवनमा यस्तो अनुभव पहिलो पटक भएको अनुभव सुनाइरहेका छन् ।

स्थानीय प्रशासनले दर्शनार्थीहरूको भीड व्यवस्थापनका लागि सुरक्षा व्यवस्था गरेको छ । प्रहरी तथा नगरपालिकाका कर्मचारीहरूले मार्ग निर्देशन, भीड नियन्त्रण र पार्किङ व्यवस्थापनमा मिलाइरहेका छन् । मन्दिर समितिका अध्यक्ष हरिहर अधिकारीले यो घटना धार्मिक दृष्टिले अतुलनीय रहेको बताउँदै भक्तजनको सुविधा र सुरक्षा सुनिश्चित गर्न सबै तयारी गरेको जानकारी दिएका छन् । आगामी दिनहरूमा विशेष पूजा कार्यक्रम आयोजना गर्ने योजना पनि रहेको छ ।
स्थानीयबासीहरू विश्वास गर्छन् कि रुखमा हनुमानजीको स्वरूप प्रकट हुनु सुख–शान्ति र समृद्धिको संकेत हो । धार्मिक दृष्टिले यो घटना नजिकैका गाउँ र बिरगञ्ज क्षेत्रमा श्रद्धा र भक्ति भावमा नयाँ उत्साह ल्याउने देखिन्छ ।




