काठमाडौं । नेपाली कांग्रेस, देशको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी । आफूलाई लोकतन्त्रको पहरेदार दाबी गर्ने यो दल अहिले विचारको बहसले होइन, आन्तरिक गुटबन्दीको चर्को रापले तातेको छ । सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीचको महाधिवेशन द्वन्द्वले पार्टीलाई दुई कित्तामा मात्र बाँढेको छैन, भित्रभित्रै अनेक उप–गुटहरू जन्मिएका छन् । क–कसले चलाईरहेका छन् त कांग्रेसमा गुट–उपगुट ?
नेपाली कांग्रेसमा गुटको राजनीति कुनै नौलो रोग होइन । स्थापनाकालमा बिपी र मातृकाबीचको टकराबदेखि २०५६ मा बनेको छत्तिसे र चौहत्तरे समूहसम्मको विरासत कांग्रेसले बोकेको छ । तर, पछिल्लो समय यो रोग महामारी जस्तै बनेको छ । अहिले पार्टीभित्र नीतिभन्दा नेता र विचारभन्दा भागबन्डा प्रधान बनेको छ । जसका कारण कांग्रेस एउटा सग्लो पार्टीभन्दा पनि गुटहरूको महासंघ जस्तो देखिन थालेको छ ।
अहिले मुख्य विवाद नियमित कि विशेष महाधिवेशन भन्नेमा छ ।
संस्थापन पक्षको नेतृत्व गरिरहेका सभापति देउवाभित्रै पनि तीनवटा उप–गुट सक्रिय छन् ।



सभापति देउवा निकट चार गुट :
विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, प्ररकाशशरण महत, शशांक कोइराला र विजयकुमार गच्छदार सम्मिलित यो समूह देउवाको शक्तिको मुख्य स्रोत हो । तर, यो समूह पार्टीको हरेक निर्णयमा आफ्नो हिस्सा खोज्ने ‘प्रेशर ग्रुप’ का रूपमा चिनिन्छ ।
कट्टर संस्थापन :
एनपी साउद र गुरु बरालहरूको यो समूह देउवाका हरेक कदमको रक्षा कवच बनेको छ । यिनीहरु कुनै पनि हालतमा तत्काल महाधिवेशन नगर्ने रणनीतिमा छन् ।
२५ केन्द्रीय सदस्य समूह :
डिला संग्रौला र उदयशमशेर जबराको नेतृत्वमा रहेको यो नयाँ उप–गुटले संस्थापनभित्रै विद्रोहको संकेत गरेको छ । पछिल्लो समय यिनीहरूले संस्थापनका आन्तरिक बैठकहरूसमेत बहिष्कार गरेर आफ्नो छुट्टै अस्तित्व खोजिरहेका छन् ।
हिन्दू धर्म पक्षधर समुह :
यो समूहको संरक्षण कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् । यो समूहमा शशांक कोइराला, शंकर भण्डारी लगायतका नेताहरु छन् ।
उता, संस्थापन इतर कित्ता पनि एकढिक्का छैन । १४औँ महाधिवेशनमा देउवालाई चुनौती दिएका डा. शेखर कोइराला पछिल्लो समय सभापतिसँग नजिकिएपछि इतर समूह रक्षात्मक बनेको छ । कोइरालाको ढुलमुल नीतिका कारण पक्षधर कतिपय नेताहरू अहिले गगन–विश्वप्रकाश धारतिर ढल्किन थालेका छन् । अहिले सबैभन्दा बढी आक्रामक रूपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा प्रस्तुत भइरहेका छन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको साथ रहेको दाबी गर्ने यो समूहभित्र पनि तीन धार स्पष्ट छ ।
शेखर–गगन–विश्व समूह
यो समुहमा गगन र विश्वप्रकाश एक अनि शेखर फरक देखिएका छन् । यो समुहभित्र तीन उपसमुह छन् ।
शेखर समुह :
संस्थापन इतर समुहको नेतृत्व गरिरहेका शेखर कोइराला विशेष महाधिवेशनको पक्षमा सकारात्मक छैनन् । विशेष महाधिवेशनलाई हेर्ने नजर फरक परेसँगै शेखर समुह गगन–विश्वको समुहबाट बाहिरिसकेको छ । यो समुहमा शेखरलाई साथ दिनेमा सहमहामन्त्रीहरु बद्री पाण्डे, जीवन परियार लगायत छन् ।
गगन–विश्व समुहमा दुई गुट :
गगन थापा विशेष महाधिवेशनमार्फत नेतृत्व नै बदल्ने वारपारको लडाईँमा छन् । थापालाई सहमहामन्त्री फरमुल्लाह मंसुर, नेता मधु आचार्य, अम्मरसिंह पुन लगायत केही जिल्ला सभापतिहरुको साथ रहेको छ । थापाको समुहमा रहेका अधिकांश युवा अनुहार छन् ।
विश्वप्रकाश शर्मा पार्टी फुटबाट बचाउन संकल्प महाधिवेशनको मध्यमार्गी बाटो खोजिरहेका छन् । मुलतः गगन थापालाई नै साथ दिने उद्देश्य रहेपनि शर्माले आफ्नै समुह निर्माणको अभ्यास गरिरहेका छन् ।
गुटबन्दीको यो पराकम्प केन्द्रमा मात्र होइन, भ्रातृ संगठन र तल्लो तहसम्म पुगेको छ । नेविसंघ र तरुण दल जस्ता पार्टीका नर्सरीहरू वर्षौंदेखि तदर्थवादमा चल्नुको मुख्य कारण यही गुटगत भागबन्डा नै हो । कांग्रेसका हरेक अवसर, पद र जिम्मेवारीमा कार्यक्षमताभन्दा कुन नेताको मान्छे भन्ने प्रश्नले प्राथमिकता पाउँदा पार्टीको साख गिर्दो छ । सिद्धान्त र आदर्शको राजनीति गर्ने कांग्रेसका लागि यो गुटबन्दी विषवृक्ष सावित भइरहेको छ । प्राविधिक रूपमा एउटै चुनाव चिन्ह र झण्डा मुनि रहे पनि व्यवहारमा कांग्रेसका नेताहरू आ–आफ्नो गुटको टापुमा रमाइरहेका छन् । यदि समयमै यो गुटतन्त्रको अन्त्य भएन भने, कांग्रेस इतिहासकै कमजोर मोडमा पुग्ने निश्चित छ ।




