काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उज्यालो नेपाल पार्टीसँगको भाँडिएको एकता प्रक्रिया बारे केन्द्रीय समितिको बैठकमा विस्तृत ब्रिफिङ दिएका छन् । केहीबेरदेखि भर्चुअल माध्यमबाट जारी सचिवालय बैठकको सुरुमै सभापतिले कुलमान घिसिङ पक्षले प्रस्तुत गरेका पछिल्ला माग र पूर्व सहमति कार्यान्वयनबारे जानकारी दिएका थिए ।

बैठक स्रोतका अनुसार सचिवालयले पूर्व सहमति अनुसार भएको सम्झौतालाई अनुमोदन नगर्ने निर्णय गरेको छ । वरिष्ठ नेता बालेन शाह पनि यस निर्णयसँग सहमत रहेको स्रोतले जनाएको छ । रवि लामिछानेले बैठकमा भनेका छन्, “हरेक दिन नयाँ प्रस्ताव लिएर आउने भएकोले अब अघि बढ्न कठिन भएको छ।”

उक्त असहमति पश्चात उज्यालो नेपाल पार्टीले पनि केन्द्रीय समिति बैठक बोलाएको छ । कुलमान घिसिङलाई अध्यक्ष पदमा चयन गरिएको छ भने उपसभापति पदमा सहमति भए पनि अन्य पदाधिकारी र केन्द्रीय सदस्यको बाँडफाँडमा दुई पक्षबीच सहमति जुट्न सकेको छैन । पार्टीको समानुपातिक उम्मेदवारसम्बन्धी पूर्व सहमति लागू नहुनु उज्यालो नेपालको गुनासो छ ।

पछिल्लो समय शक्ति बाँडफाँडको क्रममा संवाद हुँदा कुलमानले पूर्व सहमतिबाट पछि हटेको रास्वपा पक्षले जानकारी दिएको छ । यसबारे पत्रकार सम्मेलनबाट यसबारे थप जानकारी दिने तयारी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय