काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ मा रहेको महालक्ष्मी दालमोठ उद्योगले उत्पादन गरेको ठूलो परिमाणको मिक्स दालमोठ गुणस्तरहीन फेला परेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नष्ट गरेको छ। विभागका अनुसार ‘भालेश्वर ब्रान्ड’ नामबाट बजारमा आएको मिक्स दालमोठ मापदण्डअनुसार नभएको पुष्टि भएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।

विभागले गत ५ मंसिरमा उद्योगमा अनुगमन गरी संकलन गरेको नमुना प्रयोगशालामा परीक्षण गर्दा दालमोठ तोकिएको खाद्य गुणस्तर मापदण्ड पूरा नगरेको पाइएको थियो। परीक्षण प्रतिवेदन प्राप्त भएपछि विभागले उद्योगको उत्पादन तथा बिक्री–वितरणमा तत्काल रोक लगाएको थियो। त्यसपछि ११ पुसमा आदेश जारी गर्दै मंसिरमा उत्पादन गरिएको ब्याच नम्बर ०३ का ६ सय ग्रामका सबै मिक्स दालमोठ बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको थियो। सो क्रममा उद्योगमा मौज्दात १ सय २ बोरा तथा बजारबाट फिर्ता आएको १ बोरा २३ प्याकेट गरी जम्मा १ सय ३ बोरा र २३ प्याकेट (कुल २ हजार ५ सय ९८) प्याकेट दालमोठ संकलन गरिएको थियो।

विभागकी प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार उक्त सामग्री स्थानीय जनप्रतिनिधिको रोहबरमा १८ पुसमा सुरक्षित रूपमा नष्ट गरिएको हो। विभागले उपभोक्ता स्वास्थ्य सुरक्षाका लागि खाद्य उद्योगको नियमित अनुगमनलाई थप कडाइ गर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय