काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै देश बच्ने हो कि होइन भन्ने निराशा पैदा भएको बताउनु भएको छ । ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले झण्डै दुई दशकअघि शान्ति र समृद्धिको सपना देखाएर सत्तामा पुगेका दलहरूले देशलाई संकटमा धकेलेको बताउनुभयो ।



देशबाट जनशक्ति मात्र नभई अब पुँजी र उद्यमीहरू समेत पलायन हुन थालेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । पृथ्वीनारायण शाहको ‘जनता सक्षम भए मात्र देश बलियो हुन्छ’ भन्ने दिव्य उपदेशलाई उद्धृत गर्दै उनले स्वदेशी पुँजी पलायन रोक्न नसके मुलुक असफलताको संघारमा पुग्न सक्ने चेतावनी दिनुभयो । उहाँले जेन–जी आन्दोलनतर्फ संकेत गर्दै युवा पुस्ताको आवश्यकता र भावनालाई सम्बोधन नगर्दा असन्तोष पैदा हुने र त्यसले विद्रोहको रूप लिने बताउनुभयो ।
बदलिँदो भू–राजनीतिक परिस्थिति बुझ्न नसक्दा नेपालले मित्रराष्ट्रहरूको विश्वास गुमाउँदै गएको पूर्वराजाको ठहर छ । शाहवंशीय राजसंस्थाले सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिको रूपमा काम गरेको उल्लेख गर्दै पूर्वराजा शाहले जनताले सुम्पेको जिम्मेवारीबाट राजसंस्था विमुख हुन नसक्ने बताउनुभयो ।




