राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासँगको एकताको रन्कोमा यसै हप्ता मन्त्री पद त्यागेका कुलमान घिसिङ, आज अचानक उज्यालो नेपाल पार्टीको अध्यक्ष बन्नु भएको छ । रास्वपासँगको एकता भंग हुनु र पुनः पुरानै घरमा फर्कनुले फेरि केही शंसयहरु देखिएका छन् । साथै कुलमानको राजनीतिक परिपक्वतामाथि समेत प्रश्न उब्जिएको छ ।

११५ दिनको मन्त्री कार्यकाल र त्यसपछिको तीन दिनको राजनीतिक घटनाक्रमले कुलमान घिसिङमाथिको आशालाई संशयमा बदलेको छ । दुई दिनअघिसम्म रास्वपाको सम्मानजनक पदका लागि मन्त्री पद छोडेका घिसिङ, आज रास्वपासँगको प्रेम सम्बन्ध टुटेलगत्तै उज्यालो नेपाल पार्टीको अध्यक्ष नियुक्त हुनुभएको छ । उज्यालो नेपाल हुँदै रास्वपा प्रवेश गरेको ध्रुवसत्यलाई उहाँले लामो अवधिसम्म हत्केलाले छेक्ने प्रयासमा लागिरहेको कुरासमेत रहस्यमय छ ।

किन गरिएको थियो एकता ?

कुलमान घिसिङले बुझ्नुभएको थियो, बाहिर सेलिब्रेटी हुनु र सदनको शक्ति हुनु फरक कुरा हो । जन्मदै गरेको उज्यालो नेपाल पार्टीबाट चुनाव जित्न कठिन देखेपछि उहाँले रास्वपाको बलियो मास वेभ प्रयोग गर्न चाहनुभएको थियो । बालेन शाहसमेत जोडिएको रास्वपासँगको एकताबाट उहाँ आफूलाई भविष्यको प्रधानमन्त्री वा शक्तिशाली वैकल्पिक नेताका रूपमा स्थापित गर्न चाहनुहुन्थ्यो । तर, यो एकता एजेन्डामा भन्दा पनि पद र प्रतिष्ठाको बार्गेनिङमा आधारित थियो भन्ने तथ्य आजको घटनाले पुष्टि गरेको छ ।

किन टुट्यो एकता ?

कुलमानले रास्वपाभित्र आफ्नो सेकेन्ड इन कमान्डुको हैसियत र पार्टीको फरक वैचारिक लाइनको अडान राख्नुभएको थियो । तर, रास्वपाभित्रको आन्तरिक शक्ति सन्तुलन र रवि लामिछानेको एकल नेतृत्वको दबाबले कुलमानको इगोलाई ठाउँ दिएन । अन्ततः पदको बाँडफाँडमा कुरा नमिलेपछि कुलमानले एकताको डुङ्गा बीचैमा छोडिदिनुभयो ।

राजनीति र व्यवस्थापन

मन्त्री हुँदा विद्युत प्राधिकरणबाट हितेन्द्रदेव शाक्यलाई प्रतिशोधपूर्ण ढंगले हटाउनु र सर्वोच्चबाट झट्का खानुले उहाँको व्यवस्थापकीय कौशलमा अहंकार हाबी भएको देखायो । विद्युत खरिद प्रकरणमा उठेको प्रश्नले उहाँको छविमा दाग लागिसकेको छ । मन्त्रीको कुर्सीमा बसेर लुकीछिपी पार्टी खोल्नु र एकताको बार्गेनिङ गर्नुले उहाँको राजनीतिक नैतिकतालाई धरातलमा पु¥याएको छ । दुई दिनमा दुईतिरको यात्राले उहाँले सही ठेगाना पत्ता लगाउन नसकेको देखिन्छ । कुलमानमाथि अब प्रश्न थपिएका छन्, के उहाँ साँच्चै व्यवस्था परिवर्तन गर्न राजनीतिमा आउनुभएको हो कि केवल सत्ताको स्वाद चाख्न उज्यालो नेपालको अध्यक्ष त उहाँ बन्नुभयो, तर के उहाँले आफ्नो छवि पुनः उज्यालो पार्न सक्नुहोला ?

हिजो लोडसेडिङ अन्त्य गर्दा ताली बजाउने हातहरू आज उहाँकै ढुलमुले चरित्र देखेर प्रश्न उठाइरहेका छन् । एउटा कुशल प्रशासक राजनीतिज्ञ बन्न सक्छ, तर जब राजनीतिमा नैतिकता र इमानदारिताको खडेरी पर्छ, तब नायकहरु फ्लप बन्न समय लाग्दैन । कुलमानको आजको कदम आफ्नो स्वाभिमान रक्षाका लागि होला, तर यससँगै उहाँमाथि प्रश्न उठिरहेको छ, तपाईंलाई कसले मिलाएको थियो ? कुन आवश्यकता वा स्वार्थले मिलाएको थियो, आज कसले छुट्यायो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय