एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ’ए’द्वारा नेपाल चार विकेटले पराजीत

एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ’ए’ ले नेपाललाई चार विकेटले हराएको छ । श्रीलंकामा आज भएको खेलमा नेपालले दिएको १ सय ८० रनको लक्ष्य पाकिस्तान ’ए’ ले ३२ ओभर पाँच बलमा ६ विकेट गुमाएर पूरा गरेको हो । पाकिस्तान ’ए’ का लागि मोहम्मद तैयव ताहिरले ५१ रन जोडे ।

कमरान गुलामले ३१, हसिबउल्लाह खान १२, सैम अयुब २४, ओमैर बिन युसुफ ३६, मोहम्मद हरिस ९, कमरनले ३१ रनको योगदान गरे । नेपालका स्पिनर ललितनारायण राजवंशीले सर्वाधिक ३ विकेट लिए । पवन सर्राफले २ र कुशल मल्लले १ विकेट लिए । यसअघि नेपालले नेपालले ३७ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो ।

१० ओभरमै छ विकेट गुमाएर ४३ रन मात्रै जोडेको नेपालका लागि नवौं नम्बरमा आएका ब्याटर सोमपाल कामीले अर्धशतकको योगदान दिए । सोमपालले एक सय एक बलमा ९ चौका र २ छक्काको मद्दतमा ७५ रनको योगदान दिए । त्यस्तै प्रतिश जीसी २६ , अर्जुन साउद र कुशल मल्लले १७, गुलसन झाले १३, आरिफ शेखले १२ जोडेपनि अन्य खेलाडीको राम्रो खेल देखाउन सकेनन ।

पाकिस्तान ’ए’ का लागि साहनवाज दहनीले पाँच र मोहम्मद वासिमले चार विकेट लिए । अप्रिलमा काठमाडौंमा भएको एसीसी प्रिमियर कपमा शीर्ष तीन स्थान हात पार्दै नेपाल इमर्जिङ टिम्स कपमा छनोट भएको हो । टेस्ट राष्ट्र पाकिस्तान स्वतः छनोट भएको हो । नेपालले दोस्रो खेलमा सोमबार भारत ए सँग खेल्नेछ ।

भारतसँगको खेल डे नाईट खेल हुनेछ । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ए सँग खेल्नेछ । यस प्रतियोगितामा छ टोली सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल जुलाई २१ मा हुनेछ । सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन् । फाइनल खेल जुलाई २३ मा रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय