चीन र भारतले निर्माण गरिदिने भनेको दोलालघाट–धनकुटा, पोखरा–सुर्खेत सडक योजना अहिले हामी बिपनामा भेटदैनौ ! सपनामा पनि देख्दैनौ ! अहिले चीन र भारतले निर्माण गरिदिने भनेको रेल निर्माणको सपनाको नियति चाहि यस्तै नहोस् ।
- बि.स.२०३१ फाल्गुन ११ गतेको गोरखापत्र दैनिकमा छापिएको समाचारमा तत्कालीन निर्माण तथा यातायात सहायकमन्त्री भीमप्रसाद गौचनले दोलालघाट–धनकुटा सडक भारतीय सहयोगमा निर्माण गरिने कुरा उल्लेख छ । साथै सोही समाचारमा पोखरा–सुर्खेत सडक पनि चीन सरकारको सहयोगमा निर्माण गरिने कुरा छ ।
- २०३१–०३२ मा सुरु भएको पाँचौं पञ्चवर्षीय योजनामा पनि यो योजनालाई उच्च प्राथमिकतामा राखिएको छ ।
- बि.स. २०३४ मा तत्कालीन भारतीय बिदेशमन्त्री अटलबिहारी बाजपेयीको नेपाल भ्रमणको अबसरमा यो सडकको सर्भे गर्ने सहमति गरियो ।
- २०३७/०३८ मा सुरु भएको छैठौं पञ्चवर्षीय योजनाले पनि यो सपनालाई जगाइरहयो । तर, कुरा मात्र भइरहयो काम केही भएन ।
- बि.स.२०३९ माघ २१ मा नेपाल र भारतले धनकुटा–दोलालघाट राजमार्ग निर्माणको बारेमा प्रस्तावित संयुक्त आर्थिक आयोगमा थप बिचार बिमर्श गर्ने सहमति बन्यो ।
- त्यस बखत राजा वीरेन्द्रको हरेक भाषणहरुमा यो सडक योजनालाई उच्च प्राथमिकतामा राखिएको कुरा बारम्बार उल्लेख छ ।
- बि.स.२०७० सालमा भारत भ्रमण गर्दा माधव नेपालले यो सडक बनाउन अनुरोध गरेका थिए ।
अहिले हामी केरुङबाट काठमाडौंसम्म चीनले रेल बनाइ दिन्छ अनि काठमाडौंबाट वीरगंजसम्म भारतले रेलमार्ग बनाइ दिन्छ भनेर मख्ख छौ । लौ अब चीनले रेलमार्गको लागि सम्भाब्यता अध्यन गरेर डीपीआर पनि बनाउन लागिसक्यो अब तुरुन्त रेलमार्ग बनिहाल्छ भन्ने हल्ला चल्छ । भारतले बनाइदिने भनेको रेलमार्गको पनि त्यस्तै हल्ला चल्छ । नेताहरूको भाषण पनि त्यस्तै हुन्छ । तर, कहिले बन्ने हो कुनै अत्तोपत्तो छैन । हामी नेपालीहरु यो रेलमार्ग बन्ने मीठो सपनामा छौ ।
आजभन्दा ५० वर्ष अगाडी पनि हामीले यस्तै खालका दुई वटा सपना देखेको थियौ । पहिलो पूर्व जानको लागि काठमाडौंबाट धुलिखेल, दोलालघाट हुँदै सुनकोशी नदीको किनारै किनार करिब ४ सय किलोमिटर बाटो बनाएर धनकुटा पुग्ने । दोश्रो पश्चिम जानको लागि काठमाडौंबाट पोखरा हुँदै गण्डकी, धवलागिरि, राप्ती र भेरीका पहाड छिचोल्दै करिब ३ सय ७५ किलोमिटरमा सुर्खेत पुग्ने । यो बाटो बनाउन नेपालले लगानी नै गर्नु नपर्ने दोलालघाट देखि धनकुटासम्मको बाटो भारतले बनाइदिने । पोखरा देखि सुर्खेतसम्मको बाटो चीनले बनाइदिने ।
त्यतीबेला नेपाल र भारतका पत्रपत्रीका, नेपालको पञ्चवर्षीय योजना, प्राज्ञिक जर्नल पुस्तक अनि राजाको भाषणभरी यो सपना छरिएको थियो । तर प्रस्तावित पोखरा–सुर्खेत सडक निर्माणमा चिनियाँ सहयोगको भारतले विरोध गर्यो । उसले जुन ठाउँमा चिनियाँहरुले सडक बनाउँदै छन् सो ठाउँको अधिकांश नेपाली युवालाई भारतले गोर्खा रेजिमेन्टको लागि भर्ना गर्छ । अर्थात् भारतले के ठानेको थियो भने यो सडक चीनले बनाएको खण्डमा भारतको गोर्खा रेजिमेन्टमा भर्ना भएका सिपाहीहरु चीनप्रति बफादार हुनेछन् । त्यसैले यहि अड्को थापेर भारतले यो सडकलाई गर्भमै मारिदियो । अहिले हामी यो सडक सपनामा पनि देख्दैनौ ।
त्यसैगरी दोलालघाट–धनकुटासम्मको सडक निर्माणमा उसले नेपाललाई अल्मल्याउने रणनीति लियो । किनकी भारत चाहान्थ्यो नेपालमा बन्ने सडकहरू उसको लागि रणनीतिक रुपमा फाइदा हुनुपर्छ वा भारतसँग नजोडिने सडक नबनाउने उसको रणनीति नै थियो । जसले गर्दा उसले नेपाली जनताको यो सपनालाई पनि तुहाइदियो । भारतले बनाएको त्रीशुली जलविद्युत आयोजनाको लागि नभई नहुने काठमाडौं–त्रीशुली सडक बाहेक अरु त्यस्ता कुनै सडक नेपालमा बनाएको छैन ।
रुसले पूर्व–पश्चिम राजमार्गको पथलैया ढल्केबर खण्ड निर्माण गर्न राजी भएपछि लोकलाज छोप्न भारतले काकडभिट्टा पथलैया खण्ड निर्माण गरिदियो । तर, दोलालघाट धनकुटा खण्ड बनाउन राजी नै भएन । यस सडकखण्डमा उसले ओगटेर राख्ने नबनाउने नीति लियो । अहिले इण्डियन एक्जीम बैंकको महँगो ब्याजमा बनाएको नेपालका सडक पूर्वाधार विकासका कामहरुमा पनि कठोर शर्तहरुमा ऋण दिन्छ । तर, ती महंगो ब्याजको ऋणबाट नेपालले खासै फाइदा लिन सकेको छैन । यस्ता ऋणबाट नेपालको भौतिक पूर्वाधार विकास झन् महंगो हुन पुगेको छ ।
नेपालको विकासमा कोशेढुंगा साबित हुने यो रेलको योजनहरुका बारेमा अब हाम्रा राज्य संचालकहरुले गम्भीर भएर सोच्नु पर्ने बेला भएको छ । जसरी अहिले हामीले देखेको सपना केरुङ–काठमाडौं रेललाई ५० वर्ष अघिको पोखरा–सुर्खेत सडक जसरी र वीरगंज–काठमाडौं रेलमार्गलाई दोलालघाट–धनकुटा सडक जसरी नतुहाउन सुष्म कुटनैतिक अबलम्बन गरिनु पर्दछ । तर, अहिलेका हाम्रा राज्य संचालकहरुमा यस्तो क्षमता होला र ?
(लेखक नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य हुनुहुन्छ ।)
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470