भारतीय अन्तरिक्ष अनुसन्धान संगठन अर्थात् इसरोले आफ्नो सौर्य मिसन आदित्य–एल वानद्वारा खिचेको तस्बिर सार्वजनिक गरेको छ । इसरोले सूर्य र पृथ्वीबीचको एल– वान बिन्दुका लागि पठाइएको आदित्य–एल वानले एउटा सेल्फी लिएको जनाएको हो ।

इसरोका अनुसार आदित्य–एल वानले पृथ्वी र चन्द्रमाको तस्बिर पनि लिएको छ । इसरोले सार्वजनिक गरेको भिडियोमा ४ सेप्टेम्बरमा आदित्य–एल वानले खिचेको सेल्फीमा भिजिबल लाइन एमिसन कोरोनाग्राफ र सोलार अल्ट्राभायोलेट इमेजिङ टेलिस्कोप पेलोडहरू देखिने बताएको छ । सोही दिन मिसनले पृथ्वी र यसको उपग्रह चन्द्रमाको तस्बिर पनि खिचेको छ । सो तस्बिरमा पृथ्वी ठूलो देखिन्छ भने चन्द्रमा बिन्दुजस्तो देखिएको छ ।

चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान तीनको सफल अवतरण गरेको एक सातापछि नै भारतले आफ्नो पहिलो सूर्य मिसनको प्रक्षेपण गरेको हो । इसरोका अनुसार लेगरञ्ज प्वाइन्टमा पुग्न यो अन्तरिक्ष यानलाई चार महिना लाग्ने छ । लेगरञ्ज प्वाइन्ट सूर्य र पृथ्वीको गुरुत्वाकर्षण बल सन्तुलित हुने न्यूट्रल प्वाइन्ट हो । सो प्वाइन्टमा पुगेमा यसले सूर्यको सबभन्दा बाहिरी सतहको कामको अध्ययन गर्नेछ । यो मिसनले दिने जानकारीबाट सूर्यका बारेमा मानव समुदायको बुझाइ अझ राम्रो बनाउन महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय