प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलमा छलफल गरेका छन । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज उनले संसदमा प्रतिनिधित्व गर्ने दलका नेता, पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग छलफल गरेका हुन । छलफलमा सहभागी पूर्व परराष्ट्रमन्त्रीहरुले नेपाल र चीन सम्बन्ध सन्तुलित छिमेक सम्बन्धको बाटोबाट अन्यत्र लागेको हो की भन्ने शंका चिनियाँले गरिरहेको भन्दै त्यसलाई चिर्न सुझाव दिएका छन । हालै जारी नक्साबारे कुरा उठाउन पनि उनीहरुको सुझाव छ ।
सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्न, विगतका सम्झौता कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्न, नेपालले लाभ लिन सकिने विषयमा गृहकार्य गर्न पनि सहभागी दलले सुझाव दिएका छन ।छलफलमा प्रधानमन्त्री दाहालले सरकारले दुवै छिमेकीका साथै विश्वसमुदायमा सन्तुलित सम्बन्ध कायम राख्ने प्रष्ट्याउँदै प्रधानमन्त्रीले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको बताएका छन । छलफलपछि परराष्ट्रमन्त्री एनपी साउदले भ्रमणको तयारी, प्रस्ताव,सावधानी र गर्नुपर्ने कामका बारेमा दलहरुवाट रचनात्मक सुझाव आएको बताए ।



राष्ट्रसंघको महासभामा नेपालले गरिरहेको विकास प्रयास, जलवायु परिवर्तन र त्यसले नेपालजस्ता मुलुकलाई पारेको असर, शान्ति प्रक्रियाको विषयलाई उठाउने तयारी छ । प्रधानमन्त्री दाहाल भदौ ३० गते राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क जाँदै छन् । त्यतैवाट उनी चीन जाने तालिका छ ।



