काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७ स्थित वनदेवी मन्दिर परिसरमा कलात्मक फल्चा निर्माण भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोगमा नासपाती घारी टोल सुधार समितिले फल्चा निर्माण गरिरहेको हो ।

वनदेवी मन्दिर परिसरमा फल्चा निर्माणको साथसाथै कलात्मक ढुंगेधारा, तुलसीको मोठको निर्माण भइरहेको छ भने सँगै शिवलिंग र बसाहको मूर्ति स्थापना गरिएको छ । फल्चा, ढुंगेधारा र तुलसीको मोठ निर्माणको लागि ११ लाख रुपैयाँ बढी लागत लाग्ने छ । नगरपालिकाबाट ९ लाख र उपभोक्ता समितिबाट २ लाख २१ हजार रुपैयाँको लागतमा निर्माण कार्य भइरहेको समितिका उपाध्यक्ष कुमार शाहले बताउनु भयो ।

चन्द्रागिरि नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष शम्भु कुमार केसीको आर्थिक सहयोगमा शिवलिंग र बसाहको मूर्ति स्थापना गरिएको छ । उक्त शिवलिंगको भदौ ३१ गते आइतबार विहान प्राण प्रतिष्ठा गर्न लागिएको समितिका सचिव बालजी खातीले जानकारी दिनुभयो ।

के हो फल्चा ?

केही समय विश्रामको लागि बनाईएको विश्रामस्थललाई फल्चा भन्ने गरिन्छ । नेवार समुदायको वास्तुमा आधारित पाटीलाई नेपाल भाषामा ‘फलिचा’ अर्थात् ‘फलेचा’ भनिन्छ । जुन अपभ्रंश हुँदै ‘फल्चा’ भएको हो । नेपाल भाषामा ‘फल’ को अर्थ ‘पेटी’ हुन्छ । काठबाट बनेको बस्नयोग्य पेटीलाई ‘फल्चा’ भनिन्छ । फल्चाको आफ्नो छुट्टै इतिहास छ । मल्लकालमा कान्तिपुर, पाटन र भक्तपुर गरी उपत्यकाका तीनै सहर सांस्कृतिक सम्पदाले भरिपूर्ण र विकसित थिए । सडक, धारा र पोखरीसँगै फल्चा पनि आकर्षणको अर्को केन्द्र थियो, जुन दोबाटो, चौबाटो, मुख्य सडकका छेउछाउ, मठमन्दिर र मूलचोकमा बनाइन्थे ।

फल्चा १६औं–१७औँ शताब्दीदेखि निर्माण हुन थालेको संस्कृतिविद्हरु बताउँछन् । टाढाटाढाबाट आएका व्यक्तिहरूका लागि विश्राम गृहको रूपमा फल्चालाई लिइन्छ । मन भुलाउन टाढा जान नसकेका बृद्धबृद्धाको जम्काभेट गर्ने स्थलको रुपमा फल्चालाई लिइन्छ । फल्चासँगै ढुंगेधारा हुनु अर्को विशेषता हो । फल्चा आराम गृहसँगै पानी र हावाहुरीबाट बचाउने सुरक्षित स्थानको रूपमा प्रयोग गरिन्थ्यो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय