

काठमाडौं । १९औं एसियाली खेलकुद अन्तर्गत पुरुष भलिबलको दोस्रो खेलमा पनि नेपाल पराजीत भएको छ ।
चाईना टेक्सटाइल सिटी स्पोर्टस् सेन्टर हाङझावमा भएको समुहको आफ्नो अन्तिम खेलमा नेपाल इरानसँग सोझो सेटमा पराजीत भएको हो । समूह चरणका दुबै खेल हारेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । अर्को चरण पुग्न जित्नै पर्ने खेलमा नेपाल एसियाली पावर हाउस इरानसँग २५–९, २५–१५ र २५–१३ को सेटमा हार्यो । एक पक्षीय खेलमा नेपालले कुनै समय पनि खेलमा पकड बनाउन सकेन । यससँगै नेपाल रहेको पुल बी बाट बहराइन र इरान अर्को चरणमा प्रवेश गरेको छ । यी दुईबीच भोली हुने खेलले समुह विजेताको टुङ्गो लगाउने छ । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल बहराइनसँग ३–१ को सेटमा हारेको थियो । भलिबलमै महिलातर्फको खेल भने १३ गतेदेखिमात्र सुरु हुनेछ । महिलातर्फ नेपाल रहेको पुल सी मा दक्षिण कोरिया र भियतनाम छन् । नेपालले समुहको आफ्नो पहिलो खेलमा १३ गते भियतनामसँग खेल्ने छ ।





