काठमाडौं । हाल अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालको ८ दिने चीन भ्रमणको तालिका सार्वजनिक भएको छ । चिनियाँ प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री दाहालले असोज ६ गतेदेखि १३ गतेसम्म चीन भ्रमण गर्दै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल न्यूयोर्कबाट सिधै बेइजिङ जानु हुने भएको हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यसैगरी उहाँले चिनियाँ समकक्षी प्रधानमन्त्री लीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने छ । बेइजिङस्थित नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, प्रधानमन्त्री दाहालले बेइजिङस्थित नेपाली दूतावासमा आयोजना गरिएको चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री सेप्टेम्बर २३ मा हाङ्जाओमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने, चीनको कृषि तथा औद्योगिक विकासको अवलोकनका लागि चोङकिङ नगरपालिकाको भ्रमणमा जाने पनि कार्यक्रम तय भएको छ । यसैगरी, दाहालले ल्हासाको पनि भ्रमण गर्नुहुने भएको छ ।

प्रधानमन्त्री दाहाल असोज १३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय