काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७ ले निः शुल्क आँखा तथा मधुमेह परीक्षण शिविर सञ्चालन गरेको छ । चन्द्रागिरि–७ को शहरी स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको शिविर चन्द्रागिरि–७ संयोजकत्वमा लायन्स क्लब अफ काठमाडौं गुनकेशरीको संयोजनमा तिलगंगा आँखा प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरुको सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा ३५४ जनाले आँखाको परीक्षण गराएका थिए । परीक्षणका क्रममा करिव १७ जनाको मोतिविन्दुको शल्यक्रिया गर्नुपर्ने आएकोे वडाअध्यक्ष शम्भुकुमार केसीले जानकारी दिनुभयो । शल्यक्रिया गर्नुपर्ने भएमा तिलगंगा आँखा अस्पतालमा निशुल्क उपचारको व्यवस्था गरिएको समेत अध्यक्ष केसीले बताउनु भयो ।

कार्यक्रमका चन्द्रागिरि–७ का वडा सदस्य एवम् शिविर सञ्चालन संयोजक भुवन कुमार केसीले वडाले विभिन्न समयमा जनचेतानमूलक एवम् स्वास्थ्यसम्बन्धी कार्यक्रमहरु गरिरहेको र अबका दिनमा पनि यस्ता कार्यक्रम गर्दै जाने प्रतिवद्धता जनाउनु भयो ।

साथै, उहाँले ज्येष्ठ नागरिक, महिला, युवा तथा बालबालिका लक्षित स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमका लागि वडाले बजेट विनियोजन गरेको र सोही अनुरुप कार्यक्रम तर्जुमा गरिएको जानकारी गराउनु भयो । त्यस्तै, वडा सदस्य उमा कुमारी थापाले चाँडै नै वडाले महिला लक्षित कार्यक्रमअन्तर्गत पाठेघर परीक्षणको शिविर सञ्चालन गर्ने जानकारी दिनुभयो । शिविरमा रक्तचाप र मधुमेहको समेत परीक्षण गरिएको थियो । शिविरमा आएका विरामीहरुका लागि सामान्य प्रकारका औषधि पनि निःशुल्क वितरण गरिएको थियो ।

यसैगरी, शनिबारै चन्द्रागिरि नगरपालिका वडा नं. ५ स्थित देवदर्शन सहकारी प्राङ्गणमा निःशुल्क प्रसूति एवम् परामर्श शिविर सञ्चालन गरिएको थियो । मेडिलाईट फर्मा एण्ड क्लिनिकको आयोजनामा स्त्री रोगसम्बन्धी विभिन्न परीक्षण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय