काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै यसप्रति सचेत हुनुपर्ने निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा आज बसेको पदाधिकारी बैठकले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै सचेत हुनुपर्ने निष्कर्ष निकालेको हो । देशका विभिन्न भागमा देखा परेको धार्मिक तथा साम्प्रदायिकता खल्बल्लिने गतिविधिको सम्बन्धमा बैठकमा छलफल भएको पार्टीका प्रवक्त अग्निप्रसाद सापकोटाले बताउनु भयो ।
उहाँले देशमा अराजकताको संकेतहरु देखापरेका भन्दै त्यसलाई गम्भिरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने निष्कर्ष निकालिएको पनि जानकारी दिनुभयो । देशमा सामाजिक सद्भाव कायम गर्न सबैले गम्भिरतापूर्वक लाग्नुपर्नेमा बैठकले जोड प्रवक्ता सापकोटाले बताउनु भयो । यसैगरी, बैठकमा आन्दोलनरत राहत शिक्षकहरुसँग सम्वाद गरी समस्याको समाधान गर्नुपर्ने विषयमा पनि छलफल भएको सापकोटाले जानकारी दिनुभयो । प्रवक्ता सापकोटाले सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणमा पहलकदमी लिइरहेको भन्दै सरकारलाई साथ दिन अपील समेत गर्नुभयो ।






