अस्ट्रेलियाको सिड्नीमा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घटनामा अन्य एक जना गम्भीर घाइते भएका छन् । सिड्नीको दक्षिणमा रहेको बोटनी बेमा आपतकालीन सेवाका अधिकारीहरूले समुद्री तटमा ढलेका एक जना ६१ वर्षीय वृद्धलाई उद्धारको प्रयास गर्दा उनी मृत भेटिएको जनाएका छन् ।
मृतक ती वृद्ध ढलेको स्थानभन्दा केही पर अर्का एक जनालाई गम्भीर अवस्थामा उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ । मानवरहित डुङ्गा बोटनी बेमा बारम्बार घुमिरहेको देखेपछि दुर्घटनाको आशङ्कामा आपत्कालीन सेवाका अधिकारी घटनास्थलमा पुगेका थिए । अज्ञानवश पीडितहरू धेरै ह्वेल भएका स्थानमा डुङ्गा लिएर पुग्दा दुर्घटना भएको उनीहरूले बताएका छन् । सुरक्षा अधिकारीहरूले दुर्घटनाको अनुसन्धान थालेका छन् ।






