काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कैद माफी मिनाहाका विषयमा उठेका प्रश्नको सरकारले जवाफ दिनुपर्ने बताएका छन् ।संविधान दिवसका दिन गरिएका कैद माफी मिनाहाका विषयमा ब्यापक आलोचना भएपछि थापाले बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दैे सरकारको उक्त निर्णयका विषयमा संसदलाई जवाफ दिनुपर्ने बताएका हुन् । गत संविधान दिवसको दिन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिनदहाडै खुकुरी प्रहार गरेर व्यक्ति हत्या गर्ने योगराज ढकाल रिगल सहित ६७० जनाको कैदको माफी मिनाहा गरेका थिए । ‘बदनियतका साथ भएको यो निर्णय गलत छ, यसको विरोध स्वभाविक छ, वान्छनीय छ, यसको विरोध हुन्छ, हामी विरोध गर्छौं’ उनले भने । यो बिषयमा सार्वजनिक प्रश्न उठेको भन्दै सरकारले संसदमा उभिएर , त्यो फेस गर्नुपर्ने,जवाफ दिनुपर्ने,निर्णय गरेर भाग्न नपाइँने बताएका हुन । २०७५ यता सबै सरकारले संसदले बनाएका कानुनको अपब्याख्या र दुरुपयोग गरेर कैद माफी मिनाहा दिएको भन्दै महामन्त्री थापाले सभामुखले अग्रसरता लिएर ती सबै कानुनलाई संसदमा ल्याएर कैद छुटका विषयमा एकीकृत र छिद्र नहुने गरी कानुन बनाउनुपर्ने बताए ।



कानुनको स्वेच्छाचारी प्रयोग भएकोले सबै कानुन फिर्ता ल्याएर त्यसलाई एउटै कानुन बनाउनुपर्नेमा थापाको जोड छ ,जसले गर्दा भोलि गएर कसैले अपब्याख्या गर्न नसकोस् । अहिले संसदले कानुन संशोधन नगर्ने हो भने आगामी फागुन ७ मा पनि सरकारले कानुनको अपब्याख्या गरेर कैद छुट दिन सक्ने थापाले बताए ।२०७५ सालमा मुलुकी फौजदारी संहिता र मुलुकी फौजदारी कसुर तथ सजाय निर्धारण ऐन जारी भएयता हालसम्म सरकारले ६ हजार ७४६ जना कैदीबन्दीको कैद मिनाहा गरिसकेको छ ।



