इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका नेपालीहरुमध्ये चार जनाको शव धनगढी लगिएको छ । हमास आक्रमणमा परी मृत्यु भएका १० जना मध्ये ४ जनाको शव आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको थियो । नेपाल ल्याइएका उनीहरुको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत आज कैलालीको धनगढी लगिएको हो ।

नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी विमानस्थल कैलाली लगिएको सेनाले जनाएको छ ।धनगढीबाट स्थानीय प्रशासनले पीडितको घरसम्म शव पुर्‍याउने व्यवस्था गरिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ-३ का आशीष चौधरीको शव धनगढी लगिएको हो । न्यौपानेको शव गए राति नेपाल ल्याइएको थियो भने धामी र विष्टको शव आज बिहान आइपुगेको हो । चौधरीको शव आज दिउँसो २ः४० बजे नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । उनीहरु गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए ।

उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपाली, धनुषा सापही-६ का आनन्द शाह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली-३ का राजन फुलारा, डोटी लामीखाल-८ का पदम थापा र सल्यान सारदा-३ का प्रवेश भण्डारी छन् । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त-३ का विपीन जोशी सम्पर्कबिहीन छन् ।

आक्रमणमा परी मृत्यु भएका बाँकी छ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ । केही दिनअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई नेपाल ल्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय