जनकपुरस्थित राजदेवी मन्दिरमा यसवर्ष १५ हजार २ सय ५१ बोकाको बली चढाइएको छ। महाअष्टमीको साँझ राजदेवी मातालाई हरेक वर्ष बलि दिने प्रचलन रहेको छ ।आइतबार साँझ ८ बजेर २० मिनेटमा सुरू भएको बलि कार्यक्रम सोमबार बिहान ४ बजेसम्म चलेको महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले जानकारी दिएकाहुन। बली दिन ४ ठेहा तोकिएको थियो। स्थानीय महावीर युवा कमिटी, गणेश युवा कमिटी, राम युवा कमिटीले बोका बलिको व्यवस्थापन गरेका थिए।
जनकपुरधाम गुठी संस्थानले बलि प्रदानका लागि प्रतिबोका २ सय रुपैयाँका दरले पैसा उठाएको थियो। आइतबार दिउँसोदेखि नै जनकपुरमा बलि चढाउनेहरूको भिड लागेको थियो । राजा जनकको कुलदेवता रहेको मन्यता रहेकी राजदेवी मन्दिरमा वर्षमा एक दिनमात्र महाष्टमीको राती बोकाबलि दिने प्रचलन रहेको छ। राजदेवी मन्दिरमा बोकाबलिका लागि मधेश प्रदेशका विभिन्न जिल्ला सहित भारतबाट समेत श्रद्धालुहरु आउने गर्दछन्।






