

कोशी प्रदेश सरकार विस्तार भएको छ । यससंगै थप दुई जना मन्त्री थपिएका छन्। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रवार साँझ मन्त्रीमण्डल विस्तार गरेका हुन्। नियुक्त दुईजना मन्त्रीले शुक्रबारै पद तथा गोपनीयताको शपथ लिएका छन्।नवनियुक्त मन्त्रीहरुमा नेकपा माओवादी केन्द्रका मोरङ क्षेत्र नम्बर २ (क) बाट निर्वाचित सांसद गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीका पाँचथरका कमलप्रसाद जबेगु मन्त्री बनेका हुन्। उप्रेती माओवादी केन्द्रका कोशी प्रदेश सचिव पनि हुन्।
दुवै मन्त्रीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार साँझ नै पद तथा गोपनीयताको शपथ गराएका छन्। जबेगु यसअघि पनि उद्धव थापा नेतृत्वको सरकारमा सहभागी भएका थिए।गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले मन्त्रिपरिषदमा एमालेबाट रामबहादुर राना मगर र कांग्रेसका शम्शेर राईलाई यसअघि नै मन्त्री नियुक्त गरिसकेका छन्।






माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराए सरकारबाट बाहिरिने बताएको नेकपा एमालेले आफ्ना मन्त्री राना मगरलाई भने फिर्ता बोलाउँछ कि बोलाउँदैन त्यो प्रतीक्षाको विषय बनेको छ।