काठमाडौं । चन्द्रागिरि नगरपालिका भित्र जथाभावी टाँगिएका तारहरुका कारण नगरको स्वरुप नै विग्रिएको छ । नगरको मुख्य सडक, भित्रि सडक र गल्लीहरुमा रहेको विद्युतका पोलमा विभिन्न सेवा प्रदायक कम्पनी र संस्थाहरुले भद्रगोल रुपमा तार तान्दा नगरको स्वरुप नै कुरुप हुन पुगेको छ ।

देशका अन्य ठाउँ र शहर भन्दा हरेक क्षेत्रमा सुविधा युक्त रहेको चन्द्रागिरि नगरपालिका तारकै कारण कुरुप त भएकै छ मानवीय जोखिम पनि उत्तिकै बढेको छ । नगरभित्र रहेको सडकका हरेक पोलमा अब्यवस्थित तारले चन्द्रागिरि नगरपालिकाको स्वरुप त बिग्रियो नै, बेला बेलामा तार सर्ट भई विद्युतको पोलमा आगो लाग्दा झन् त्रासदी फैलिन थालेको छ । केही समय अघि मात्र सतुंगल, चेकपोष्ट र दाउराडिपोलगायतका विद्युतपोलमा आगलागी भएको थियो । बिभिन्न सेवा प्रदायक कम्पनी र संस्थाहरुले सेवाको गुणस्तरमा ध्यान दिने तर यस्ता खालका जोखिमबाट बच्न र अब्यवस्थित तारको व्यवस्थापन गर्न भने खासै चासो देखाएको पाईदैन ।

चन्द्रागिरि नगरपालिकाले पनि नगर क्षेत्रभित्र विभिन्न प्रयोजनका लागि पोलमा टाँगिएका अनावश्यक केवलतार तथा डिभाईसहरुले नगरको सौन्दर्य घटाएको भन्दै तार हटाउन पटक पटक पहल नगरको भने होइन । वडा कार्यालय देखि नगरपालिकासम्मले बारम्बार सरोकारवाला निकायलाई तार व्यवस्थित गर भन्दै पत्र काट्ने, सूचना प्रकाशन गर्दै आएको छ । तर सरोकारवाला निकायले भने पत्र र सूचनाको कुनै प्रवाह नै गरेको देखिदैन । तार हटाउने विषयमा नगरपालिकाले नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण एवं विभिन्न केवलतार नेटवर्क व्यवसायीहरुसँग पटक पटक छलफल गरेको बताउँदै आएपनि कामको परिणाम भने शून्य नै छ ।

यो पनि पढ्नुहोस् ।

‘चन्द्रागिरि नगरपालिकाले पछिल्लो समय आवश्यक समन्वय र सहजीकरण गर्ने सम्बन्धी विषयमा सूचना प्रकाशन गरेको छ । जसमा भनिएको छ । चन्द्रागिरि नगरपालिका क्षेत्रभर विभिन्न प्रयोजनको लागि पोलमा टाँगिएका अनावश्यक केवलतार तथा डिभाईसहरुले नगरको सौन्द्रर्यतामा ह्रास हुनुका साथै लत्रिएका तारहरुबाट जनधनको क्षतिहुने सम्भावना समेत बढ्दै गएको तथा जनगुनासो समेत बढ्को हुँदा सो सम्बन्धमा मिति २०८०-०६-१९ र मिति २०८०-०७-१५ गते नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण एवं विभिन्न केबलतार नेटवर्क व्यवसायीहरुसँग समन्वय बैठक बसी सबै सेवाप्रदायक सरोकारवालाहरुको आपसी समन्वयमा केवलतार व्यवस्थापन गर्ने र सो अनुसारको प्रगती पेश गर्ने निर्णय भएको हुँदा आ–आफ्नो भूमिकाको समयमै समन्वय गर्नुहुन यो सूचना जारी गरिएको छ । समन्वय नगरी बस्नुहुने केवल नेटवर्कहरुको सेवामा असर पर्न गएमा नगरपालिका जवाफदेही नहुने व्यहोरा समेत यसै सूचनाबाट जारी गराइन्छ ।’

यो पनि पढ्नुहोस् ।

तार हटाउने विषयमा नगरपालिकाले बारम्बार सरोकारवाला निकायसँग छलफल गरेपनि पोल भाडामा लिएर आफ्नो सेवा विस्तार गरिरहेका सेवा प्रदायक कम्पनीहरुले यो विषयमा त्यति चासो देखाएको पाईदैन । प्राधिकरणले पोलको तार व्यवस्थापनको लागि दुरसञ्चारसँग पनि पहल भइरहेको र व्यस्त सडकमा काम गर्न असहज हुँदा काम गर्न ढिलाई हुने बताउँछ । नगरपालिका तार हटाउनु पर्छ मात्र भन्छ, न कुनै योजना छ न उपाय । त्यसैले नगरपालिका भित्र रहेको अव्यवस्थित तार हट्ला भन्नेमा शंका नै छ । अव्यवस्थित तारकै कारण नगर कुरुप मात्रै छैन, जोखिमपूर्ण छ । देख्दै पट्यारलाग्दा तारको गुजुल्टो र अस्तव्यस्त तारले दुर्घटना नहोला भन्न सकिदैन । कतै पोल ढल्छ, तार चुडिन्छ, तर समयमै मर्मत हुँदैन । जसकारण नगरबासी मारमा परेका छन् । अव्यवस्थित तारको व्यवस्थापन भए नगर सुन्दर हुने थियो, नगरबासी सुरक्षित हुने थिएकी !

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय