ठूला औद्योगिक लोकतान्त्रिक देशहरूको समूह जी सेभेनका विदेशमन्त्रीहरुले गाजामा भइरहेको इजरायली बमबारी रोक्न आह्वान गरेका छन । जापानको टोकियोमा सम्पन्न जी सेभेन देशका विदेशमन्त्रीहरूको बैठकले मानवीय सहायताका लागि आक्रमण रोक्न आग्रह गरेको हो । गाजा पट्टिमा हताहतीमा परेका सर्वसाधारण प्यालेस्टिनीसम्म सहयोग पु¥याउन विश्रामको अनुरोध गरिएको विदेशमन्त्रीहरुले बताएका छन ।
बैठकले हमासको आक्रमणको निन्दा गर्दै इजरायलको प्रतिरक्षाको अधिकारलाई सम्मान गरेर वक्तव्य निकालेको छ । विदेशमन्त्रीहरुले इजरायल–हमास युद्धका सम्बन्धमा एकै मतमा पुगेको पनि बताएका छन । वक्तब्यमा हमासको निन्दा र इजरायलको समर्थन गरिएको छ भने अर्कोतर्फ खाना, पानी, स्वास्थ्य उपचार र आश्रय खोजिरहेका प्यलोस्टिनी जनतालाई सहयाग गर्न ‘तत्कालै काम थालिहाल्नुपर्नेमा जोड दिइएको छ ।



सर्वसाधारणको आवातजावत र बन्दीहरूको रिहाईको माग पनि बैठकले गरेको छ । वक्तव्यमा ‘प्यालिस्टिनी जनतामाथि भइरहेको हिंसा बढिरहेकोमा पनि’ निन्दा गरिएको छ । हिंसाले ‘वेस्ट ब्यांकको सुरक्षा खलबलाएको र दीर्घ शान्तिको उद्देश्यमाथि संकट सिर्जना गरेको’ ठहर गरिएको छ । विज्ञप्तीमा अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केन लगायत बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, जापान र इटालीका परराष्ट्रमन्त्रीले हस्ताक्षर गरेका छन । उता संयुक्त राष्ट्र संघीय नियोगहरूले गाजाको उत्तरी भेगमा खाना र पानीको अभाव भएपछि हजारौं प्यालेस्टिनी दक्षिणतिरै पैदल भागिरहेको जनाएको छ ।
गाजाका २३ लाख बासिन्दामध्ये झण्डै दुई तिहाई आन्तरिक रुपमा विस्थापित भएका छन् । गाजाको स्वास्थ्य, सरसफाई, पानी र खाद्यान्न सेवा सबै अन्तिम स्थितिमा पुगेका बताइएको छ । इजरायलले भने आफ्नो सेना गाजा शहरको भित्रैसम्म हमास लडाकुसँग जुधिरहेको दाबी गरेको छ । गाजामा इजरायलको आक्रमणवाट १० हजार प्यालेस्टिनी मारिएका छन ।



