

भुकम्प प्रभावित जिल्लाका दुर्गममा राहत पठाउनै कठिनाइ आएको छ । समयमै पीडितको जानकारी नआउने र भौगोलिक विकटताले कठिनाइ थपिएको हो । सहयोगी निकायले पनि सहज स्थानमा मात्रै राहत दिने तर भौगोलिक कठिनाइ भएका ठाउँमा नजाने हुँदा जिल्ला विपत् व्यवस्थापन समितिलाई चुनौती थपिएको दुबै जिल्लाका प्रशासन कार्यालयलले जनाएका छन । ढिलो जानकारी आउँदा र भौगोलिक कठिनाइले गर्दा राहत पठाउन कठिनाइ थपिएको हो ।
भौतिक संरचनाको क्षतिको तथ्याङ्क बढ्दै गएकाले त्रिपालको आवश्यकता थपिएको छ । अब राहत लिएर आउने निकायलाई सुगमभन्दा पनि दुर्गममा वितरणका लागि आग्रह गरिने प्रशासनले जनाएको छ । यसैविच जाजरकोट भूकम्पबाट प्रभावित दुर्गम स्थलहरूमा राहतस्वरूप खाद्यान्न पठाउन सुरु गरिएको छ । जिल्ला विपत् व्यवस्थापन समितिले बुधबारदेखि दुर्गम स्थलमा खाद्यान्न पठाउन सुरु गरेको हो । दुर्गम भए पनि गाडी जाने ठाउँमा ट्याक्टरबाट र सडक नपुगेका स्थानमा हेलिकोप्टरबाट पठाउन थालिएको हो ।






जिल्ला प्रशासन कार्यालयले भूकम्पको केन्द्रबिन्दु मानिएको बारेकोट गाउँपालिकाको रामीडाँडामा ट्याक्टरबाट खाद्यान्न पठाउन सुरु गरिएको जानकारी दिएको हो । नलगाड नगरपालिका–१ को जुरेलीसम्म सडक नभएको हुँदा हेलिकोप्टरमार्फत पठाउन सेनासँग कुरा भइरहेको प्रशासनको भनाइ छ । यस्तै जुनीचाँदे गाउँपालिकामा पनि राहत पुग्न नसकेको गुनासो आएपछि पठाउने तयारी गरिएको छ ।
सुरुमा खाद्यान्न छिटफुट रूपमा वितरण गरिए पनि हिजोदेखि सहज रूपमा खाद्यान्न ढुवानी गरी सम्बन्धित ठाउँमा पठाइएको दाबी प्रशासनको छ । भूकम्पपछिको उद्धार सकिएपछि सुरुमा त्रिपाल, कम्बल वितरणलाई प्राथमिकता दिएको र बुधबारदेखि खाद्यान्न ढुवानी गर्न सुरु गरिएको हो । दातृ निकायलगायतले दिएका खाद्यान्न जिल्ला सदरमुकाम खलङ्गामा राखिएको छ । त्यहीँबाट ट्याक्टर र जिपमा खाद्यान्न ढुवानी गरी पठाउन थालिएको छ ।