काठमाडौं । हिन्दुहरुको दोस्रो महान चाड तिहार नजिकिँदैछ । तिहारको सुरुवात नै धनतेरसबाट सुरु हुन्छ । तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइने गरिन्छ । सुरुको दिन धनतेरस पर्व मनाउँदै तिहारको सुरुवात गरिन्छ । यस दिन विभिन्न पूजा सामाग्री, फलफूल, चाँदी, तामा, पित्तल तथा माटो लगायतका सामाग्री राखी धुमधामसँग माता लक्ष्मी र कुबेरको पूजा गरिन्छ ।

पौराणिक कथा अनुसार धनतेरसलाई धन्वन्तरिको नामले पनि चिनिन्छ । यो कथा देवता र असुरहरुद्वारा गरिएको समुद्र मन्थनसँग सम्बन्धीत छ । सो समुन्द्रमन्थनका क्रममा धन्वन्तरिको उत्पत्ति भएको मानिन्छ । उनी समुन्द्रबाट आफ्नो हातमा अमृत भरिएको कलश लिएर प्रकट भएका थिए । त्यसैले उनको अर्को नाम ‘पीयूषपाणि धन्वन्तरि’ पनि हो । उनलाई भगवान् विष्णुको अवतार मानिन्छ । त्यसबाहेक परम्परा अनुसार धनतेरसका दिन सन्ध्याकालमा यमराजलाई घरको मुलढोकामा दियो बालिन्छ । यमराजलाई कसैको घरभित्र नपस्न र कसैलाई दुःखकष्ट नदिन अनुरोध गर्दै पूजा गर्ने चलन छ ।

धनतेरसमा अधिकांश सुनचाँदी, तामा लगायतका पूजा सम्बन्धी सामग्री खरिद गर्ने भएकाले यस अवधिमा चाँदीको कारोबार उल्लेख्य रुपमा हुने गर्दछ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हरेक वर्षको तिहारमा ३ हजार केजीको हाराहारीमा चाँदीको कारोबार हुने गर्छ । धनतेरसका दिनमा मानिसहरुले चाँदीका सिक्का, पाला, गणेश लक्ष्मीको मूर्ति, भाडाकुँडा, चाँदी, तामा, फलाम तथा माटोका भाँडाकुँडा, घण्ट, धनयन्त्र, श्रीयन्त्र लगायत खरिद गर्ने गर्छन् । यस्ता सामान खरिद गर्नाले माता लक्ष्मी प्रशन्न हुने र सदा धन वर्षा गरिदिने तथा सम्पूर्ण परिवारको सुख शान्ति र स्वास्थ्य हुने धार्मिक मान्यता छ । यसो गर्दा माता लक्ष्मी तथा कुबेर प्रशन्न हुने र धनवर्षा हुने जनविश्वास रहँदै आएको छ । हिजोआज मोटरवाहन, मोबाइल, कम्प्युटर जस्ता विलासिताका वस्तुहरू खरीद गर्न पनि यसै दिनलाई पर्खने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय