काठमाडौं । पुण्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । समृद्ध समाजको निर्माण पुण्योदय सहकारीको अभियान भन्ने नाराका साथ सहकारीले साधारण सभा सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले सहकारीहरुले उत्पादनलाई जोड्न नदिई ऋण र बचतलाई मात्र ध्यान दिंदा अहिले देशमा सहकारीमा विकराल समस्या देखिएको बताउनु भयो । उहाँले नेपालमा सहकारी च्याउसरी भएको र सहकारीको पछिल्लो गतिविधिका कारण बचतकर्ताको नजरमा सहकारीले विश्वास गुमाउँदै गएको उल्लेख गर्नुभयो । मुख्यमन्त्री जम्मरकट्टेल भन्नुहुन्छ, कुनै पनि ठाउँमा बाहिरका व्यक्ति आएर स्थानीयलाई प्रयोग गरी सहकारी संचालन गर्ने र उनीहरुले ठूलो मात्रामा रकम जम्मा भएपछि लिएर भाग्ने गरेको र यस्ता प्रकृतिका सहकारी नियन्त्रणका लागि सरकारलाई ठूलो चुनौति बनिरहेको बताउनु भयो । उहाँले बचतकर्तालाई कुन व्यक्ति, कस्ता व्यक्ति, कहाँका व्यक्तिले सहकारी संचालन गरिरहेका छन् भनि बुझि थोरै बढी ब्याजको लोभमा नफसी बुझेर मात्र सहकारीमा पैसा जम्मा गर्न आग्रह गर्नुभयो ।

मुख्यमन्त्री जम्मरकट्टेल बहुउद्देश्यी सहकारी भएकोले पैसा जम्मा गर्ने र व्याजमा लगाउने काम मात्र नगरी उत्पादनलाई जोड दिन पनि सहकारीलाई निर्देशन दिनुभयो । उहाँले केन्द्रीय सरकार, प्रदेश सरकारको संयुक्त पहलमा उत्पादनलाई बढावा दिने उद्देश्यले ६० देखि ८० वटा स्थानीय क्षेत्रलाई पकेट क्षेत्रको रुपमा घोषणा गर्न लागिएको जानकारी समेत गराउनु भयो । उहाँले काठमाडौंमा कृषि क्षेत्र कम भएकोले आफु निर्वाचित क्षेत्र धादिङमा आई कृषि क्षेत्रमा लगानी गर्न पनि सहकारीलाई आग्रह गर्नुभयो ।

बागमती प्रदेशका सांसद रमा आले मगरले सहकारीकोमार्फत आर्य आर्जनलाई कसरी जोड्न सकिन्छ भनि अध्ययन गर्दै २०७४ सालमा आफुहरुले ऐन बनाएको र सोही ऐन अहिले पनि कार्यान्वयन भईरहेकोले समय सापेक्ष ऐन संशोधनको आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय चन्द्रागिरिमा सहकारी बढ्नुको मुख्य कारण सुरुङ मार्ग रहेको दाबी गर्नुभयो । सांसद मगरले सुरुङ मार्गले जग्गा अधिकरण गरेबापत आएको अर्बौ रकम कब्जा गर्ने उद्देश्यले पनि सहकारी खोलिएको बताउनु भयो । उहाँले बैंकमा राखिएको पैसा भन्दा केही प्रतिशत व्याज बढी दिने भन्दै बचतकर्तालाई लोभमा फसाई करोडौं रुपैयाँ सहकारीमा जम्मा गराउन लगाउने र अहिले उनीहरुलाई चाहिएको बेलामा पैसा नदिने प्रबृद्धि चन्द्रागिरि भित्रका केही सहकारीहरुमा देखिएकोले सचेत हुन आग्रह गर्नुभयो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरिमा १७० वटा बढी सहकारी संचालनमा रहेको र कुनै न कुनै सहकारीमा यहाँका जनता आवद्ध रहेकाले उनीहरुप्रति नगरपालिका उत्तरदायी रहने बताउनु भयो । उहाँले दैनिक नगरपालिकामा सहकारीले बचत गरेको पैसा दिएन भन्दै नगरबासी आउने गरेकोले सहकारी सदस्यमा आधारित भएर संचालन हुने हुँदा सहकारी सदस्यप्रति इमान्दार हुन आग्रह गर्नुभयो ।

पुण्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सानुकाजी खड्गीले बैंक बचतकर्ताको कहिल्यै साथी बन्न नसक्दा सहकारीप्रति जनताको विश्वास बढ्दै गएको बताउनु भयो । उहाँले केही सहकारीले गर्दा सबै सहकारी अहिले बदनाम हुन पुगेकोले बचतकर्तालाई थोरै व्याजको लोभमा नफसी सहकारी संचालकहरुको बारेमा सम्पूर्ण कुरा बुझेर मात्र बचत गर्न सुझाव दिनुभयो । उहाँले केही व्यक्तिले ऋण लिने साँवासमेत नर्तिदा संस्था अप्ठ्यारोमा पर्ने गरेको बताउँदै संस्था जोगिनमा सदस्यहरुको भूमिका पनि उत्तिकै रहेकोले धितो लिलाम गर्नु संस्थाको उद्देश्य नरहेको उल्लेख गर्नुभयो । उहाँले सहकारीले कृषि क्षेत्रमा पनि लगानी गरिरहेको स्मरण गराउँदै उत्पादन कर्ता र उपभोक्ताबीचको दुरीको फाइदा बिचौलियाले उठाउँदा उपभोक्ता महंगीको मारमा परेको र उत्पादनकर्ता पलायन हुने अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

आर्थिक वर्ष २०७४-०७५ मा ८७ जना शेयर सदस्यबाट प्रतिसदस्य १ लाख रुपैयाँ शेयर पूँजीबाट सुरु गरिएको सहकारी आ.ब. २०७९-०८० सम्म आइपुग्दा ४ लाख ५० हजार ८ सय ६१ कित्ताबाट ४ करोड ५० लाख ८६ हजार १ सय शेयर पूँजी संकलन गरेको छ । २०७९-०८० को अन्त्य सम्ममा कूल कारोबार १६ करोड २६ लाख २ हजार ३ सय ८७ रुपैयाँ १० पैसा कारोबार गरेको छ । आर्थिक वर्ष ०७९–०८० मा सहकारीको ५३ करोड ६६ लाख ४३ हजार ८ सय ८९ रुपैयाँ २४ पैसा कूल सम्पत्ति रहेको छ ।

कार्यक्रममा बागमती प्रदेशका सांसद विन्दु श्रेष्ठ, वडा अध्यक्ष, चन्द्रागिरि नगरपालिकाको आर्थिक शाखा प्रमुख राजु खड्कालगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय