https://fb.watch/otAnJhm0l3/

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा रहेको शहीद स्मृति प्रकृति प्रतिष्ठान (थानकोटको त्रिभुवन पार्क) ले आफ्नो अस्थित्व गुमाएको छ । कुनै बेला यो पार्क थानकोटको त्रिभुवन पार्कको नामले चर्चित थियो । यसको आफ्नो छुट्टै पहिचान थियो । नेपाली सिनेमा होस् या म्यूजिक भिडियो यो पार्कमा आएर छायाँकन नगरिए त्यो फिल्म र म्यूजिक भिडियोले पूर्णता पाउँदैनथ्यो । पार्कमा मान्छेको भीडले हिड्ने र बस्ने ठाउँ समेत राम्रोसँग पाईदैनथ्यो । यो पार्कले आफ्नो पहिचान स्वदेशमा मात्र होइन विदेशमा पनि बनाएको थियो । यहाँका बासिन्दाले आफ्नो नाम र पहिचान यही पार्कबाट पाएका थिए । यो पार्कको नाम लिंदा कुनै बेला स्थानीयले आफुलाई गौरवाञ्चित ठान्दथे । तर, अहिले यो पार्क राजनीतिक खिचातानी र सम्बन्धित निकायको उदासिनताले खण्डहरमा परिणत हुन पुगेको छ ।

लामो समयदेखि आफ्नो पहिचान हराएको शहीद स्मृति प्रकृति प्रतिष्ठान (थानकोट पार्क) ले अब आफ्नो पहिचान विस्तारै बनाउँछ कि भन्नेमा केही आशा पलाएको देखिन्छ । यहाँका राजनीतिक दल, स्थानीयको जोडबल र प्रदेश सांसदहरुले देखाएका तदारुकताकै कारण अब यो पार्कले गतिलिन्छ भन्नेमा केही आशावादी बन्ने सक्ने देखिन्छ । पार्क लथालिंग अवस्थामा पुगेपछि पार्क बनाउनु पर्छ भन्ने हेतुले सांसद विन्दु श्रेष्ठको संयोजकत्वमा पार्क व्यवस्थापन तदर्थ समिति गठन गरिएको छ । सोही अनुरुप बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन र यहाँका प्रदेश सांसदलाई तदर्थ समितिले स्थलगत रुपमा नै पार्कको अवलोकन गराई पार्कमा भइरहेको गतिविधि र अवस्थाको बारेमा जानकारी गराएको थियो । पार्कमा निर्माण भइरहेको थ्री डी आर्टस् ग्यालरीको भवन अवैधरुपमा निर्माण भइरहेको भन्दै त्रिभुवन पार्क संरक्षण तथा समन्वय समितिले ध्यानकर्षण पत्र समेत बुझाएको छ ।

पार्कको अवलोकनसँगै मन्त्री महर्जनले पार्कलाई पार्ककै स्वरुपमा ल्याउन आफुले जस्तो कुनै चुनौतिको सामना गर्न पनि तयार रहेको बताउनु भयो । उहाँले पार्क बागमती प्रदेश सरकार मातहत रहेको र अब कानूनी अड्चनलाई जतिसक्दो चाँडो फुकाई स्थानीयलाई नै जिम्मा लगाउने सोचमा प्रदेश सरकार रहेको बताउनु भयो । मन्त्री महर्जनले प्रदेशबाट पार्कलाई बर्सेनी बजेट विनियोजन हुँदै आएपनि झन् झन् पार्क लथालिंग हुँदै गएकोले बागमती प्रदेश सरकारले आ.ब. २०८०-०८१ को बजेटमा पार्कको नाममा कुनै बजेट नछुट्याएको समेत जानकारी गराउनु भयो । उहाँले पार्कमा हुँदै आएको अवैधानिक गतिविधिलाई जतिसक्दो चाँडो रोक्ने र पार्कलाई व्यवस्थित बनाउन डिपिआर चाडै नै तयार पार्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश सांसद रमा आलेमगर, यमुनादेवी श्रेष्ठ, विन्दु श्रेष्ठ, राजनीतिक दलका प्रतिनिधि, स्थानीय, बुद्धिजिविलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय