काठमाडौं । सत्ता गठबन्धनबीच आज अपराह्न ३ बजे बालुवाटारमा छलफल हुने भएको छ । राष्ट्रिय सभा निर्वाचनको माघ ११ मा हुने चुनावका लागि सिट बाँडफाँटका विषयमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीबीच छलफल हुन लागेको हो । राष्ट्रिय सभा निर्वाचनको विषयमा आज बिहान पनि बालुवाटारमै कांग्रेस र माओवादीका शीर्ष नेताबीच करिब आधा घन्टा छलफल भएको थियो ।
बिहानको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए भने नेकपा माओवादी केन्द्रको तर्फबाट वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन लगायतका नेताहरु सहभागी थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि छलफल गर्ने तयारी भएको र साँझ पाँच बजे छलफल गर्ने सत्ता गठबन्धनको तयारी छ ।
राष्ट्रिय सभामा रिक्त हुने १९ सांसदमा एमालेबाट आठ जनाको कार्यकाल सकिँदैछ ।






