काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मतदाताहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ । आज अन्तिम नामावली प्रकाशित भएपछि भोलि सातै वटा प्रदेशमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार राष्ट्रिय सभा निर्वाचनका लागि २ हजार ४७ जना मतदाता छन् । यसअघि स्वीकृत मतदाताको नामावली पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा सार्वजनिक भएको थियो । प्रकाशित नामावलीमा छुटेको भए समावेश गर्न, नाम समावेश भएकाको विवरण सच्याउनु पर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिने व्यवस्था थियो । ती सबै प्रक्रिया सकेर आज अन्तिम मतदाता नामावली प्रकाशित गर्न लागिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।



राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।
आगामी फागुन २० गते ६ वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासहितका सदस्यहरु विदा हुँदैछन् । तिमिल्सिना सहित नेकपा एमालेका ९, नेपाली कांग्रेसबाट ४, नेकपा माओवादी केन्द्रबाट ३ तथा एकीकृत समाजवादीबाट २ जना र जसपाबाट १ र स्वतन्त्र निर्वाचित खिमलाल देवकोटा पनि राष्ट्रिय सभाबाट विदा हुनेछन् ।



