जनकपुरधामस्थित जानकी मन्दिरबाट कोसेली ‘भार’ श्री राम भगवानको घर अयोध्या पुर्याइएको छ । भारतको उत्तर प्रदेशस्थित अयोध्यामा नवनिर्मित श्री राम मन्दिरको उदघाटन एवम् प्राण प्रतिष्ठानको अवसरमा माता सिताको जन्मभूमि जनकपुरधामबाट पठाइएको भार सहितको यात्रा टोली अयोध्या प्रस्थान गरेको थियो ।
अयोध्या पुगेको टोलीले आज भार यात्रामा लगिएका पाहुर अयोध्यास्थित रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टलाई हस्तान्तरण गरेको छ । जनकपुरधामस्थित जानकी मन्दिरमा आयोजित एक कार्यक्रमका बीच जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधी र मधेस सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले विदाई गरेपछि भार यात्रा भारतको अयोध्याका लागि प्रस्थान गरेको थियो ।



जनकपुरवाट पठाइएको कोशेली ‘पाहुर’मा विभिन्न प्रकारका कपडा, आभुषण, भाडावर्तनका साथै विभिन्न मिठाई तथा पकवानहरु रहेका छन् । यसका साथै भगवान रामका लागि चाँदीको धनुष वाण, माता सीताको चरण पादुका लगायतका गरगहना समेत पाहुरमा राखिएको छ । जनवरी २२ तारिखमा भारतको अयोध्यामा निर्माण गरिएको नयाँ मन्दिरमा भगवान रामको प्रतिमाको पाण प्रतिष्ठा हुने कार्यक्रम रहेको छ ।



