नेपाली सेनाले शुरु गरेको एकिकरण पदयात्रा नुवाकोट आईपुगेको छ । नेपाल एकिकरण क्रममा प्रयोग भएका ऐतिहासिक पदमार्गको प्रचार–प्रसारका लागि सेनाले शुरु गरेको पदयात्रा सोमवार नुवाकोट प्रवेश गरेको हो ।
नेपाली सेनाको एकिकरण पदयात्रालाई मंगलवार एतिहासिक नुवाकोट साततले दरवार क्षेत्रमा स्वागत गरिएको हो । विदुर नगरपालिका कार्यालय र स्थानीय बासिन्दाले सेनाको पदयात्रालाई स्वागत गरेका छन् । स्वागत कार्यक्रमा बोल्दै विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले एकिकरण पदमार्गमा पर्ने एतिहासिक धरोहर संरक्षणका लागि नगरपालिका क्रियाशिल रहेको वताए ।



पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर सेनाले २०७६ सालबाट एकिकरण पदयात्रा शुरु गरेको हो । नेपाली सेनाले नेपाल एकिकरण गर्दा प्रयोग भएका तात्कालिन ऐतिहासिक पदमार्गको संरक्षण, संम्र्बदन र प्रचार–प्रसारका लागि गोरखा दरवार स्थित हनुमान भन्ञ्याङ्ग चौताराबाट शुरु भएको पदयात्रा गोरखावाट धादिङ, नुवाकोट हुँदै काठमाण्डौसम्म पुगेर समापन हुनेछ । नेपाल एकिकरणका क्रममा राजा पृथ्वी नारायण शाहले दोश्रो प्रयासबाट नुवाकोट विजय गरेको र यसै स्थानलाई आफ्नो राजधानी बनाई एकिकरणलाई अघि बढाएको ईतिहासविद कुशवहादुर डंगोलले बताए ।
नेपाली सेनाका अधिकृतको नेतृत्वमा ३० जनाको टोली पदयात्रामा रहेको छ । सेनाको टोलीले प्रत्येक जिल्लाको सिमानामा अर्को जिल्लाको टोलीलाई झण्डा र टर्च लाईट हस्तान्तरण गर्दछ । काठमाण्डौको टोली पुस २७ गतेका दिन हनुमान ढोका दरबारमा हुने पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको कार्यक्रममा सहभागी भएपछि पदयात्रा समापन हुने गर्दछ ।



